काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलन उत्कर्षमा पुगेका बेला सुरक्षा अवस्थालाई मध्यनजर गर्र्दै सभापति रवि लामिछानेलाई पार्टीले नख्खु जेलबाट बाहिर निकालेको स्वीकार गरेको छ ।
सहमहामन्त्री विपिनकुमार आचार्यले बुधबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत सुरक्षा अवस्थाको आकलन गरी आवश्यकताको सिद्धान्तको आधारमा नख्खु कारागारबाट सभापति लामिछानेलाई निकालेर परिवारको जिम्मा लगाउन पार्टीले भूमिका खेलेको बताएका हुन् ।
कारागार प्रशासनले परिवार र पार्टीको उच्च नेतृत्वलाई सभापति लामिछानेको जिम्मा लिइदिन अनुरोध गर्नु र परिवार र पार्टीले त्यसलाई स्वीकार गर्नु स्वभाविक भएको तर्क उनको छ ।
पार्टीको उच्च नेतृत्व र कारागार प्रशासनको अनुरोधपछि वस्तुस्थितिको आकलन गरेर उच्च जोखिमका बाबजुद नख्खु पुगेको दाबी उनको छ ।
‘२३ गतेको विषम परिस्थितिका बाछिटाहरू २४ गते बिहानै भयावह रूपमा देखिन थालिसकेका थिए। हरेक प्रहर आन्दोलनको राप ताप बढ्दै थियो र अनियन्त्रित हुँदै थियो ।
निहत्था युवा तथा विद्यार्थीहरूमाथि अघिल्लो दिनको बर्बर दमनको रिटालियसन स्वरूप विभिन्न सरकारी संयन्त्रहरू जल्न थालेपछि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई कारागारबाट बाहिर लैजानको लागि औपचारिकरअनौपचारिक अनुरोधहरू आउन थाले,’ उनले भनेका छन्, ‘मिडियाहरूले राज्यका तिनै अंग प्रदर्शनकारीको कब्जामा भन्ने हेडलाइन सम्प्रेषण गर्दै गर्दाको परिप्रेक्ष्यमा कारागार प्रशासकहरूलाई परिस्थिति पेचिलो र विषम हुनु स्वाभाविक थियो ।
सुरक्षामा चुनौती भएको आकलन गरेर कारागार प्रशासनले परिवार र पार्टीको उच्च नेतृत्वलाई रवि लामिछानेको जिम्मा लिइदिन अनुरोध गर्नु र परिवार र पार्टीले त्यसलाई स्वीकार गर्नु समय सापेक्ष थियो । यो नितान्त सुरक्षाको अवस्थाको आकलन गरी आवश्यकताको सिद्धान्तको आधारमा गरिएको निर्णय थियो ।’
२४ भदौमा नख्खु कारागारबाट बाहिर आएका लामिछाने शुक्रबार आख्फैं जेलमा फर्किएका थिए । सहकारीको बचत अपचलन कसुरमा भैरहवा कारागारमा रहेका उनलाई गत महिना मात्र नख्खु ल्याइएको थियो ।