२० बैशाख २०८१, बिहीबार
Follow Us

भाइटीकापछि खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने

नेपालब्रिटेन संवाददाता
२१ कार्तिक २०७७, शुक्रबार १२:५४

काठमाडौं । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान रोकिने भएको छ । काठमाडौं महानगरपालिका र अभियन्ताहरुबीच मंसिर २ अर्थात् भाइटीकाको भोलिपल्टदेखि सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति शुक्रबार भएको हो ।

निःशुल्क खाना खुवाउनु परेमा वैकल्पिक स्थानको पहिचान गरेर स्थानीय पालिकाहरुसँग समन्वय गर्ने सहमति पनि उनीहरुबीच भएको छ । त्यसका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्ने भएको छ । खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी समेत गर्ने भएका छन् ।

खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने भएकाले व्यवस्थित गर्न दुबै पक्ष सहमत भएका हुन् । यसअघि महानगरले खाना खुवाउन रोक्न निर्देशन दिएपछि विवाद भएको थियो ।