२९ श्रावण २०८२, बिहीबार
Follow Us

कोरोनाविरूद्ध अक्सफोर्डको भ्याक्सिन ७० प्रतिशत प्रभावकारी

नेपालब्रिटेन संवाददाता
८ मंसिर २०७७, सोमबार ०९:२६

लन्डन । कोरोनाभाइरसविरूद्ध बेलायतको अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेन्कासँग मिलेर बनाइरहेको भ्याक्सिन ७० प्रतिशत प्रभावकारी देखिएको छ। बेलायती समाचार पत्र द गार्डियनका अनुसार अष्ट्राजेन्काले सोमबार तेस्रो चरणको परीक्षणबाट आफ्नो भ्याक्सिनको प्रभावकारिता ७० प्रतिशत रहेको जानकारी दिएको छ। भ्याक्सिनको एउटा डोज ९० प्रतिशत र अर्को ६२ प्रतिशत प्रभावकारी भएकोले दुबैको प्रभावकारी मिलाउँदा ७०.४ प्रतिशत देखिएको बताइएको छ।

अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिनोलोजीकी प्राध्यापक सारा गिलबर्टले आजको घोषणाले हामीलाई कोभिड १९ गरेको क्षतिलाई अन्त्य गर्ने समयको एक कदम नजिक ल्याइपुर्‍याएको बताइन्।

‘हामी नियामकहरूलाई विस्तृत विवरण उपलब्ध गराउन काम गर्नेछौं। संसारलाई फाइदा पुर्‍याउने यो बहुराष्ट्रिय प्रयासको सहयात्री हुन पाउन खुसीको कुरा हो,’ उनले भनिन्। अक्सफोर्ड भ्याक्सिन ग्रुपका प्राध्यापक एंव प्रमुख अनुसन्धानकर्ता एन्ड्रू पोलार्डले यो नतिजाले धेरै जीवन जोगाउन प्रभावकारी भ्याक्सिन बनाइरहेका छौं भन्ने देखाएको बताए।

अक्सफोर्डले बनाएको यो भ्याक्सिन अहिलेसम्म तेस्रो चरणमा परीक्षण भएका भ्याक्सिनमध्ये सबैभन्दा कम प्रभावकारी देखिएको हो । यसअघि अमेरिका फाइजर र मोडेर्ना कम्पनीले बनाएका भ्याक्सिन झन्डै ९५ प्रतिशत प्रभावकारी देखिएका थिए। रूसले पनि आफूले बनाएको स्पुतनिक भी भ्याक्सिन प्रभावकारी भएको दाबी गरेको छ।

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले बनाइरहेको भ्याक्सिन भारतमा पनि बनाउने सम्झौता भएको छ। भारतीय कम्पनी सिरम इन्स्चिट्युड अफ इन्डियाका सिइओ आदर पुनावाला खोपको मूल्य १२ सय भारूसम्म पर्ने बताएका छन्।

धेरै पढिएको