२७ बैशाख २०८१, बिहीबार
Follow Us

संयुक्त राष्ट्र संघले प्राणघातक लागू औषधको सूचिवाट गाँजालाई हटायो

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०७७, बिहीबार १४:४६

काठमाडौं । संयुक्त राष्ट्र संघको लागू औषधि सम्बन्धी नियोगले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गरेको छ । अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणमा रहेको गाँजालाई उक्त सूचीबाट हटाउँदै औषधिजन्य प्रयोजन र रोगको उपचारमा प्रयोग गर्न आवश्यक नियमन गर्न सम्बन्धित देशहरुका लागि बाटो खुला गरिएको हो ।

सो नियोगको सदस्यमा नेपाल पनि छ । सन् १९६१ देखि खेती गर्न, ओसारप्रसार र सेवन गर्न प्रतिबन्ध लगाइएको गाँजाबारे आयोगका ५३ सदस्यमध्ये २७ जनाले उक्त प्रतिबन्धबाट फुकुवा गर्न मतदान गरेका थिए । उक्त निर्वाचनमा २५ जनाले विरोध गर्नुको साथै एकजना अनुपस्थित रहेको बताइएको छ ।

राष्ट्रसंघको सो आयोगका निर्णय अनुसार उक्त गाँजासम्बन्धी अनुसन्धान गर्न र मनोरञ्जनको साधन र औषधीय गुणको रुपमा कानुनी रुपमा अङ्गिकार गर्ने अन्य देशहरुलाई पनि प्ररित गर्ने बताइएको छ । करिब ५९ वर्षसम्म गाँजालाई उपचार पद्धतिमा प्रयोग गर्न समेत कडा रुपमा प्रतिबन्ध लगाइएको थियो ।

अहिलेसम्म ५० वटा देशहरुले गाँजाको औषधीय गतिविधिलाई अङ्गिकार गरिसकेका छन् । क्यानाडा, उरुग्वेलगायत अमेरिकाका १५ वटा राज्यहरूले मनोरञ्जनको लागि गाँजाको प्रयोगलाई वैधानिकता दिएका छन् । गैरऔषधीय गुण भएका जडीबुटीको प्रयोगले युवाको स्वास्थ्य र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै जापानले यस्को विरोध गरेको छ ।