२४ बैशाख २०८१, सोमबार
Follow Us

संसद पुनर्स्थापना कुनै हालतमा हुन सक्दैन : प्रधानमन्त्री

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७७, आईतवार ११:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनर्स्थापना हुन नसक्ने बताएका छन् । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिबाट प्रतिनिधिसभा विघट्न भएको स्पष्ट पार्दै यो राजनीतिक प्रश्न हो भनेका छन् ।

उनले नेपालको संविधानको धारा ७६ (७) ले प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको स्पष्ट पार्दै संविधानले तोकेबमोजिमले जाँदा अस्थिरता नहुने बताए । साथै उनले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेपछि संसद् विघटन गरिएको प्रष्टिकरण दिए ।

यो आवश्यकताको सिद्धान्तअनुसार गरिएको उल्लेख गर्दै उनले लोकतन्त्रमा प्रधानमन्त्रीले गरेको कुनै पनि सिफारिस राष्ट्रपतिले सदर गर्नुपर्ने संवैधानिक व्यवस्थाका बारेमा अवगत गराउँदै त्यसमा न्यायसङ्गत भए नभएको जिम्मेवारी स्वयं प्रधानमन्त्रीले लिनुपर्ने उल्लेख गरे ।

भारत र चीनबाट भएका पछिल्ला केही नेपाल भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले नेपालको भलो चिताउने मुलुकमा आउँछन्, कुरा गर्छन् र जान्छन् भने । सोही अवसरमा उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यही १४ जनवरी भारत भ्रमण गर्ने जानकारी गराए । उक्त भ्रमणमा द्विपक्षीय हित, नेपालको नयाँ नक्सालगायत विषयमा छलफल हुने उनले बताए ।