काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप उपलव्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिए । उक्त खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिइने त्रिपाठीले बताए ।
भारत सरकारले नेपाललाई अनुदानस्वरुप खोप दिन लागेको जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो ।
भारतले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप खोप उपलब्ध गराउँदैछ । महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसेल्सलाई अनुदानमा खोप दिने भएको हो । भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड र एस्ट्राजेनेकाको कोभिशिल्ड खोप नेपालले पाउने भएको हो ।