३२ असार २०८२, बुधबार
Follow Us

म्यानमारका सेनालाई तत्काल सत्ता छाड्न बाइडेनको चेतावनी

नेपालब्रिटेन संवाददाता
२० माघ २०७७, मंगलवार ०३:५०

लन्डन । म्यानमारमा सेनाले ‘कू’ गरेको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालिन बैठक आज बस्दैछ । परिषदले म्यानमारलाई प्रतिबन्ध लगाउने लगायतका विषयमा आवश्यक निर्णय लिने बताइएको छ ।

सेनाले सोमबार सत्ता हातमा लिएपछि अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन् । सेनाले सत्ता हातमा लिनुका साथै चर्चित प्रजातन्त्रवादी नेत्री आङ सान सू चीसहित २४ जनालाई पक्राउ गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आङ सान सूचीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की दिएका छन् ।

बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । त्यसो नभए अमेरिकाले उचित कदम चाल्ने उनको प्रतिक्रिया छ । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई भयभीत पार्ने भनि व्याख्या गरेका छन् ।

युरोपेली संघ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन् । प्रजातन्त्रवादी नेतृ सूचीले सैन्य कूविरुद्ध प्रदर्शनमा उत्रन आह्वान गरेकी छिन् ।

नजरबन्दमा रहेकी नेतृ सुचीले सेनाले देशमा तानाशाह भित्राउन खोजेको भन्दै त्यसको विरोध गर्न आह्वान गरेको उनको पार्टी नेसनल लिग फर डेमोक्रेसीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जनाएको छ ।

म्यानमारको सेनाले सत्ता हातमा लिएसँगै संकटकाल पनि लगाएको छ । गत नोभेम्बर ८ तारिखमा सम्पन्न निर्वाचनमा सूचीको पार्टी नेशनल लिग फर डेमोक्रेसीले धाँधली गरेर जितेको आरोप त्यहाँको सेनाले लगाएको छ ।

धेरै पढिएको