१३ बैशाख २०८१, बिहीबार
Follow Us

न्यूजिल्याण्डमा नेपालीलाई निर्घात कुट्ने देश निकाला

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७७, सोमबार ०८:२४

काठमाडौं। न्यूजिल्याण्डमा अर्का नेपाली व्यक्तिलाई बेहोस हुँदासम्म कुटपिट गर्ने एक नेपाली युवालाई न्यूजिल्याण्ड छाड्न आदेश दिइएको छ । यदि उनले आदेशअनुसार देश नछाडे उनलाई डिपोर्ट गरिनेछ । विद्यार्थी तथा काम गर्ने भिसामा २०१८ देखि न्यूजिल्याण्डमा बस्दै आएका २४ वर्षका पारस भण्डारीलाई यस्तो आदेश दिइएको हो । जुलाइ २०२० मा उनीमाथि आक्रमण र ज्यान मार्ने धम्की दिएको अभियोग प्रमाणित भएको थियो ।

न्यूजिल्याण्डको अखबार स्टफका अनुसार अदालतमा सुनुवाइका क्रममा भण्डारीले अर्का नेपाली युवालाई मरणासन्न हुनेगरी कुटेको बताइयो । ती युवाले भण्डारीले न्यूजिल्याण्डमा मदिरा पिउने र पार्टी गर्ने गरेको कुरा नेपालमा भण्डारीका अभिभावक र श्रीमतीसमेतलाई जानकारी दिइरहेका थिए । यही कारण भण्डारीले उनलाई भित्तामा धकेलेर उनको अनुहार र टाउकोमा उनी बेहोस हुँदासम्म कुटेको अदालतमा सुनुवाइको क्रममा बताइयो । भण्डारीको कुटाइका कारण पीडित युवाको नाक भाँचिएको थियो, मस्तिष्कमा आघात पुगेको थियो र अनुहारमा कैयौं चोट लागेका थिए ।

होटलमा सेफको रुपमा काम गर्ने भण्डारीलाई ६ महिनाको सामुदायिक हिरासतसहित पीडितको उपचारको लागि १ हजार डलर तिर्नुपर्ने सजाय सुनाइएको थियो । अगष्ट २०२० मा उनलाई डिपोर्ट उत्तरदायित्व नोटिस दिइएको थियो तर उनले यसविरुद्ध इमिग्रेसन एण्ड प्रोटेक्सन ट्रिब्युनलमा आवेदन दिएका थिए । ट्रिब्युनलका अनुसार भण्डारीले आवेदनमा आफूलाई डिपोर्ट गर्न नहुने बताउँदै आफू न्यूजिल्याण्ड आएपछि राम्रो मान्छे बनेको तर्क गरेका थिए । उनले राम्रो शिक्षा, जीवन र जीवनशैलीको लागि न्यूजिल्याण्ड आउँदा ठूलो रकम खर्च गरेको भन्दै आफू कोभिड–१९ महामारीका बेला अत्यावश्यक कामदार रहेको पनि दावी गरेका थिए । डिपोर्ट गरिँदा आफू र परिवारको बेइज्जती हुने उनले तर्क गरेका थिए ।

ट्रिब्युनलले डिपोर्ट गरिँदा यसले भण्डारीलाई निराशा र भावनात्मक आघात पुग्ने स्वीकार गरेको छ तर त्यसले असाधारण मानवीय परिस्थितिलाई सम्बोधन गर्न नसक्ने ठहर गरेको छ । टिब्युनलले भण्डारीको आग्रहलाई अस्वीकार गर्दै उनको भिसा निर्णय जारी भएको २८ दिनमा रद्द हुने भनेको छ । यदि उनले डिपोर्ट हुनबाट बच्न चाहेको भए २८ दिनभित्र न्यूजिल्याण्ड छाड्नुपर्ने र यदि यो अवधिमा कोभिड प्रतिबन्धका कारण उडान नपाए अस्थायी भिसाको लागि आवेदन दिनुपर्ने बताएको छ ।