८ जेष्ठ २०८१, मंगलवार
Follow Us

म्यान्मारमा जारी हिंसामा थप ३८ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२ चैत्र २०७७, सोमबार ०४:४७

यांगुन । सैन्य कू विरुद्ध म्यान्मारमा जारी प्रदर्शनमा थप ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारी मारिएका हुन् । बाँकीको मृत्यु देशका विभिन्न भागमा भएको प्रदर्शनमा भएको हो ।

आन्दोलनकारीले चिनियाँ स्वामित्वमा रहेको एक कपडा कारखानामा आक्रमण गर्दा चिनियाँ नागरिकहरु पनि घाइते भएका छन् । आक्रमणलगत्तै चीन सरकारले आफ्ना नागरिकको सुरक्षा गर्न म्यानमार सरकारको ध्यानाकर्षणसमेत गराएको छ । बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाएको छ ।

कारखानामा आक्रमण भएलगत्तै सुरक्षाकर्मीले दमन सुरु गरेको बताइएको छ । फेब्रुअरी एकमा सेनाले शक्ति हातमा लिएयता म्यान्मारमा प्रदर्शनहरू भइरहेका छन् । हालसम्म १ सय २० जना भन्दाबढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । सरकारले करिब एक हजार पाँच सय भन्दा बढीलाई पक्राउ गरी हिरासतमा लिएको छ ।