८ जेष्ठ २०८१, मंगलवार
Follow Us

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजबाट

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७७, बुधबार ०४:४९

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गर्दै छ ।

ललितपुरको हेरिटेज गार्डेनमा आयोजना हुने भेला भोलिसम्म सञ्चालन हुने छ । भेलामा जिल्लाका अगुवा कार्यकर्ता र केन्द्रीय सदस्य गरी देशभरबाट २ हजार जनाभन्दा बढी नेता÷कार्यकर्ता सहभागी हुनेछन् ।

एमाले अध्यक्ष ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेका थिए । त्यसयता एमालेमा विभाजन देखापरेको हो ।

अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गरिरहेको छ । यसबीच अध्यक्ष ओलीको निमन्त्रणमा गत सोमबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई पक्षबीच वार्ता भए पनि सहमति हुन सकेन ।

नेपाल पक्षले गत फागुन २८ का सबै निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ भने ओलीले त्यसलाई परिवर्तन गर्न नसकिने अडान लिएको छ ।