८ जेष्ठ २०८१, मंगलवार
Follow Us

दक्षिण एसियामा झण्डै २ लाख ३९ हजार आमा र बच्चाको मृत्यु

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७७, बुधबार १२:३३

एजेन्सी । संयुक्त राष्ट्रसंघले कोरोना महामारीका कारण स्वास्थ्य सेवा प्रभावित भएका दक्षिण एसियाली विभिन्न मुलुकमा झण्डै २ लाख ३९ हजार आमा र बच्चाको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।

राष्ट्रसंघद्वारा सार्वजनिक डाइरेक्ट एन्ड एनडाइरेक्ट एफेक्ट्स अफ कोभिड–१९ प्यानडेमिक एन्ड रेस्पोन्स इन साउथ एसिया विषयक प्रतिवदेनका अनुसार कोरोनाका कारण अवरुद्ध स्वास्थ्य सेवाका कारण सबैभन्दा बढी महिला, बालबालिका र किशोर–किशोरी प्रभावित बनेका छन् । यी ६ राष्ट्रमा पोषण, स्वास्थ्य स्याहारदेखि खोप लगायतका अत्यावश्यक सेवा अवरुद्ध हुँदा पाँच वर्षमुनिका थप २ लाख २८ हजार बालबालिकाको मृत्यु भएको अनुमान समेत सो प्रतिवेदनले गरेको छ ।

प्रतिवेदनमा ४ लाख किशोरीसहित ३५ लाख महिलाहरू परिवार नियोजनका साधनको पहुँचबाट वञ्चित भएको जनाइएको छ । यद्यपी नेपाल र बंगलादेशमा कुपोषणको उपचार गराइरहेको बालबालिकाको संख्यामा ८० प्रतिशतले कमी आएको बताएको छ । पाकिस्तान र भारतमा भने बच्चाहरुको खोप कार्यक्रम प्रभावित बनेको बताइएको छ । पाकिस्तानमा ३५ प्रतिशत र भारतमा ६५ प्रतिशतले नियमित खोप कार्यक्रम प्रभावित बनेको प्रतिवेदनमा उल्लेख छ ।

विशेषत: दक्षिण एसियाका नेपालसहित अफगानिस्तान, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका केन्द्रित सो रहेर सो प्रतिवेदन तयार पारिएको राष्ट्रसंघलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । प्रतिवेदनमा महामारीका बेला सरकारी रणनीतिले स्वास्थ्य सेवा, शिक्षालगायतका सामाजिक सेवा र अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन गरिएको छ । दक्षिण एसियामा हालसम्म एक करोड ३० लाख मानिसमा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये र १ लाख ८६ हजारको मृत्यु भएको छ ।