२४ बैशाख २०८१, सोमबार
Follow Us

२० करोडलाई कोरोना खोप दिने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७७, शुक्रबार ०६:११

अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिका हैसियतले काम गरेको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाको खोप दिने घोषणा गरेका छन् । राष्ट्रपति बनेपछि पहिलो पटक आयोजित आधिकारिक पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका हुन् । लक्ष्य महत्वाकांक्षी रहे पनि यसमा आफूहरु सफल बाइडेनको विश्वास छ ।

अन्य मुलुकको तुलनमा अमेरिकाले अहिले गरेका पहल सकारात्मक ढंगले अघि बढेको उनको भनाइ छ । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अहिले दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

पत्रकार सम्मेलनमै बाइडेनले दोस्रो कार्यकालका लागि पनि आफूले उम्मेदवारी दिने बताए । उनले सन् २०२४ मा पनि उम्मेदवारी दिने बताएका हुन् । ७८ वर्षीय बाइडेन अमेरिकाको इतिहासमै राष्ट्रपति हुने सबैभन्दा पाको व्यक्ति हुन् । उनले केवल चार वर्षको कार्यकाल सम्हाल्ने अनुमान लगाइएको भएपनि उनले अर्को कार्यकालमा पनि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा पत्रकारहरुले प्रश्न राखेका थिए । बाइडेनले मेक्सिकोसँगको सीमामा देखिएको मानवीय सङ्कटका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार रहेको बताए । बाइडनले चीनसँग संघर्ष गर्ने आफ्नो कुनै उद्देश्य नरहेको बताए । तर राष्ट्रपति सी जिनपिङको भने आलोचना गरे ।

बाइडेनले चीन संसारकै सबैभन्दा शक्तिशाली र सबैभन्दा धनी देश बन्न चाहेको तर त्यसो हुन अमेरिकाले नदिने पनि उल्लेख गरे । अफगानिस्तानमा अमेरिकी सेना धेरै दिन नरहेको पनि उनको भनाइ छ ।