२४ बैशाख २०८१, सोमबार
Follow Us

ओलीलाई तत्काल प्रधानमन्त्री पदबाट हटाउनुपर्छ : यादव

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०७७, शुक्रबार ०६:१९

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीलाई तत्काल प्रधानमन्त्री पदबाट हटाउनुपर्ने बताएका छन् । शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले सर्वोच्चको फैसलाले विघटित प्रतिनिधिसभा पुनःस्थापित गरेपनि प्रधानमन्त्री ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले तत्काल पदबाट हटाउनुपर्ने बताए ।

“अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता, गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,” अध्यक्ष यादवले भने, “अहिले सबैले कांग्रेसतिर हेरिरहेका छन्, त्यसमा पनि पार्टी सभापति देउवातिर ।”

संविधान र संसदमाथि प्रहार गरेपछि प्रधानमन्त्री ओली अहिले फेरि पुनःस्थापित संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप पनि लगाए । उनले सरकारले संसदलाई विजनेस नदिएर संसदलाई फेरि भंग गर्न लागि परेको बताए ।

“राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा पनि प्रधानमन्त्रीले स्पष्टरुपमा संसदलाई निकम्मा देखखएर फेरि भंग गर्ने भरमग्दूर प्रयास गर्नुभएकै हो,” यादवले भने, “राष्ट्रियसभा बैठक नबोलाउनु पनि त्यसकै लागि हुनसक्छ ।”