२८ बैशाख २०८१, शुक्रबार
Follow Us

चीनले नेपाललाई दिएको २० हजार थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याउने तयारी

नेपालब्रिटेन संवाददाता
२० बैशाख २०७८, सोमबार ११:४३

काठमाडौं । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिन्डर दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चीनले दिने ती सिलिन्डरलाई चाँडो काठ्माडौं ल्याउने तयारी सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हवाइ र स्थल मार्गबाट ती सिलिन्डर झिकाउने प्रयास भएको जानकारी दिए । यसैसाता दक्षिण एसियाली मुलुकका पाँच विदेशमन्त्रीसँगको छलफलमा चीनले क्षेत्रीय सहकार्यसहितका विषयमा नेपाललाई अक्सिजन सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

चीनले कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण बढिरहेको परिस्थितीमा नेपाललाई ९ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री पनि दिने बताइसकेको छ । चीनले दिने भनेको ती सिलिन्डर भित्र्याउने जिम्मा परराष्ट्र, अर्थ र स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको पनि प्रवक्ता गौतमले बताए । नेपालमा पनि अक्सिजन सिलिन्डरको माग बढेपछि सरकारले सिलिन्डर होल्ड नगर्न भनेको छ ।

सीसीएमसीको शुक्रबारको बैठकमा पनि चीनले सहयोगस्वरुप उपलब्ध गराउने भनेकामध्ये २,००० सिलिन्डरलाई जहाजबाट ल्याउने बारे छलफल भएको कोभिड संकट व्यवस्थापन केन्द्रका सचिव खगराज बरालको भनाई छ ।