२४ बैशाख २०८१, सोमबार
Follow Us

जसपाका मन्त्रीलाई आजै सपथ

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार १०:००

काठमाडौं । पार्टी विभाजनको डिलमा परेको जसपाको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गर्ने भएका छन् । जसपाको ठाकुर पक्षलाई आजै सरकारमा सहभागी गराउने तयारी भएको छ । सरकारमा सहभागी हुनेबारे बिहीबार र शुक्रबार प्रधानमन्त्री ओली र ठाकुर पक्षबीच छलफल भएको थियो ।

जसपा आठ मन्त्रालयसहित सरकारमा सामेल हुँदैछ । जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन् । आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण गराउने विषयमा ओली र ठाकुरबीच छलफल भएको बताइन्छ । त्यसबारे प्रधानमन्त्री ओलीले पार्टीका मुख्य नेताहरुसँग छलफल थालेका छन् । एमालेबाट पनि नयाँ मन्त्री नियुक्ति हुने बुझिएको छ ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपाको ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको हो । उपप्रधानमन्त्रीसहित उद्योगमा राजेन्द्र महतो, ऊर्जामा शरतसिंह भण्डारी, अनिलकुमार झाले शहरी विकास, विमल श्रीवास्तव खानेपानी र उमाशंकर अरगरियाले युवा तथा खेलकुद मन्त्रालय पाउने टुंगो लागेको बालुवाटार स्रोतले बतायो ।

जसपाको संसदीय दलमा ठाकुर बहुमतमा रहे पनि कार्यकारिणी समितिमा अर्का अध्यक्ष उपेन्द्र यादव बहुमतमा छन् । मन्त्री हुन नपाएकाले ठाकुरलाई छाडेर उपेन्द्र यादव पक्षमा जाने बताइन्छ ।