२० बैशाख २०८१, बिहीबार
Follow Us

रोजगारीका लागि भारत जानेहरु बढे

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७८, सोमबार १३:१४

कैलाली । घरमा बसेर परिवार पाल्न समस्या भएपछि कोरोना डरले नेपाल फर्किएका अधिकांश नेपाली फेरी रोजगारीका लागि भारत जान थालेका छन् । भारत सरकारले गरेको लकडाउन खुकुलो भएसँगै काम पाइने आशामा भारत जान थालेको उहाहरुले बताउनुभएको छ ।

कैलालीको त्रिनगर नाकामा अहिले रोजगारीका लागि भारत जानेहरुको भिड लाग्न थालेको छ । यस अघि भारतमा दोस्रो चरणको कोरोनाले महामारीको रुप लिन थालेपछि ज्यान जोगाउन स्वदेश फर्किएका धेरै नेपालीले परिवारको ज्यान जोगाउन रोजगारी गर्न भारत जान थालेको बताएका छन । अहिले नेपाल फर्किनेको संख्या भन्दा दैनिक भारत जानेहरुको संख्या दोब्बर हुन थालेको कैलाली त्रिनगर नाका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले बताउनुभएको छ ।

दैनिक ८ सय देखि हजार नेपाली रोजगारीका लागि भन्दै भारत जाने गरेको उहाँले बताउनुभएको छ । कोरोना डरले घरमा बस्दा भएको पैसा सबै सकिएपछि परिवारलाई २ छाक जोहो गर्न कोरोना डरबीच भारत जानु पर्ने बाध्यता रहेको भारत जाँदै गरेका नेपालीहरुले बताउँनुभएको छ ।

स्वास्थ्य सहायता कक्ष त्रिनगर नाकाका अनुसार आइतबार मात्रै ४ सय नेपाली स्वदेश फकिएकोमा ८ सय बढि नेपाली भारत गएका छन् । साता दिनको तथ्यांक हेर्दा ४ हजार जति नेपाली रोजगारीका लागि भारत गएका छन् ।