सरकारको गैरकानुनी कामले हद नाघ्यो, अब चुप बस्दैनौँ: गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको गैरकानुनी कामले हद नाघेको आरोप लगाउँदै लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भए कांग्रेस चुप लागेर नबस्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएका हुन् । समाचार प्रकाशित भएकै आधारमा प्रहरी मिडिया हाउसमा प्रवेश गरी पत्रकार पक्राउ गर्नु गम्भीर विषय भएको उनको भनाइ थियो ।
उनले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको हस्तक्षेपलाई सामान्य रूपमा लिन नहुने बताए । कांग्रेसले आवश्यक पर्दा सरकारलाई सहयोग गर्ने र राष्ट्रिय संकटका बेला साथ दिने भए पनि लोकतन्त्र तथा नागरिक अधिकारका विषयमा सरकारको गलत कदमको प्रतिवाद गर्ने उनको भनाइ थियो ।
पत्रकार पक्राउको घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको स्मरण गराएको थापाले बताए । नागरिक दबाबपछि पक्राउ परेका पत्रकार रिहा भए पनि घटनालाई केही पत्रकार पक्राउ परेको विषयमा मात्रै सीमित गर्न नहुने उनले उल्लेख गरे ।
थापाले भने, ‘केही समाचारहरू प्रकाशित भएको आधारमा प्रहरीहरू केही मिडिया हाउसहरूमा प्रवेश गरेर पत्रकारहरूलाई गिरफ्तार गरेको हामीले देख्यौँ । यो घटनाले हामी सबैलाई केही वर्ष अगाडिको एउटा अप्रिय घटनाको याद दिलायो, शाही कालको याद दिलायो, जतिखेर मिडिया हाउसमा सुरक्षाकर्मीहरू प्रवेश गर्नुभएको थियो । यो घटना पछाडि विरोध भयो, प्रश्नहरू उठ्यो र त्यस पछाडि पत्रकार साथीहरू रिहाइ हुनुभयो । केही साथीहरू पक्राउ पर्नुभयो, छुट्नुभयो, सकियो अब ? यहाँ सकिँदैन र सकिनु हुँदैन भन्ने नेपाली कांग्रेसको धारणा हो ।’
उनले उक्त घटनाले सरकारले राज्य, आफ्नो अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको बताए । प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको उनको टिप्पणी थियो ।
थापाले सरकारमा रहेका केही व्यक्तिले राज्यका निकायलाई निजी आदेश पालना गर्ने कार्यालयका रूपमा बुझ्न थालेको भन्दै यस्तो प्रवृत्ति शक्तिको स्वेच्छाचारी प्रयोग भएको बताए । ‘डेमोक्रेसीमा सरकारसँग अधिकार हुन्छ, हामी त्यसलाई मान्छौँ । त्यसैले त हामी सरकारले भनेका कुरा मान्छौँ । तर सरकारको अधिकार कहाँबाट उत्पन्न हुन्छ ? कानूनबाट उत्पन्न हुन्छ । तर जब सरकारको इच्छा नै सरकारमा बसेको मानिसहरूलाई मेरो इच्छा नै कानुन हो भन्ने लाग्न थाल्छ, त्यसपछि समस्या सुरु हुन्छ । अहिले भएको त्यही नै हो’ उनले भने ।
सरकारको कार्यशैलीमा देखिएको प्रवृत्तिलाई सामान्यीकरण नगर्न उनले सञ्चारमाध्यम, नागरिक समाज र राजनीतिक दलहरूलाई आग्रह गरे । सरकारको अधिकार कानुनी सीमाभित्र रहेर प्रयोग हुनुपर्नेमा जोड दिँदै थापाले लोकतन्त्र, नागरिक अधिकार र प्रेस स्वतन्त्रताका विषयमा कांग्रेसले निरन्तर प्रश्न उठाउने र आवश्यक परे प्रतिवाद तथा प्रतिरोध गर्ने बताए ।

