२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले एकता समस्याको मुख्य जड ओली, नेपाल र खनाल हुन्: योगेश भट्टराई

नेपालब्रिटेन संवाददाता
२६ जेष्ठ २०७८, बुधबार ०५:००

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताको समस्याको मुल जड प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल र माधव कुमार नेपाल भएको आरोप लगाएका छन् ।

उनले ओली, खनाल र नेपालले एक अर्काको अस्तित्व स्वीकार्न नसक्दा एमाले पार्टी एकतामा समस्या आएको बताएका हुन् । आफ्नै पार्टीका नेताहरुसँग सहकार्य र छलफल गर्न तयार नहुने तर अन्य दलका नेताहरुसँग कुम जोडेर हिँड्ने मनोवृत्तिले पार्टी एकता हुन नसकेको भट्टराईले बताए ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली, राजेन्द्र महतो र महन्थ ठाकुरसँग सहकार्य गर्न तयार हुने तर, आफ्नै पार्टीका नेता खनाल र नेपालसँग सहकार्य गर्न तयार नहुनाले पार्टी एकता हुन नसकेको जिकीर गरे ।

त्यस्तै, भट्टराईले खनाल र नेपाल अध्यक्ष ओलीसँग छलफल र सहकार्य गर्न तयार नहुने तर, शेर बहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’ र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने भएकाले पार्टी एकता हुन नसकेको बताए ।

“कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने,” भट्टराईले लेखेका छन्,“कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।”

उनले कसले, किन र केका लागि गर्दै छ यो सब भन्दै प्रश्नसमेत गरेका छन् ।