६ जेष्ठ २०८१, आईतवार
Follow Us

पार्टीलाई संकटमा जान नदिन भदौमै महाधिवेशन गर्न कांग्रेसका जिल्ला सभापतिहरूको माग

नेपालब्रिटेन डट कम्
२७ श्रावण २०७८, बुधबार ००:५८

काठमाडौंमा भेला भएका नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले भदौमै पार्टीको महाधिवेशन गर्न माग गरेका छन्।

भदौ २३ पछि सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद सकिने भएकोले त्यसअगावै पार्टीको १४ औं महाधिवेशन गरी संकट टार्न जिल्ला सभापतिहरूले ध्यानाकर्षण गराएका छन्।

काठमाडौंको ठमेलस्थित होटल यात्रीमा सोमबार र मंगलबार जिल्ला सभापतिहरू भेला भएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको भेलाले समयमै महाधिवेशन गर्न जोड दिएको छ।

भेलामा ३८ जना जिल्ला सभापतिहरू भौतिक रूपमा र १३ जना जिल्ला सभापतिहरू भर्चुअल रूपमा सहभागिता जनाएका थिए।

नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले समयमै महाधिवेशन गर्न नेतृत्वलाई सुझाव र दवाव दिइएको बताए।

‘जसरी हुन्छ पार्टीलाई संवैधानिक रूपमा संकटमा जान दिनु भएन। तोकिएकै समयभित्र महाधिवेशन गरौं,’ उनले भने, ‘क्रियाशीललगायत केही विवाद छन् भने हल गरिहालौं, ढिला नगरौं।’

विवादित ठाउँमा १३ औं महाधिवेशनकै बेलाका क्रियाशीलबाट वडा अधिवेशन गर्ने विकल्प रहेको पनि जिल्ला सभापतिहरूको भनाइ थियो।

भेला समापन समारोहमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरू पनि पुगेका थिए। उनीहरूले प्रक्रिया छोट्याएर भए पनि भदौ १६ मै महाधिवेशन गर्ने गरी नेतृत्व अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

सभापति शेरबहादुर देउवाले महाधिवेशन कार्यतालिकालगायतबारे छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक राखेका छन्। उक्त बैठकले महाधिवेशनका तल्ला तहका अधिवेशनबारे नयाँ कार्यतालिका ल्याउने तयारी छ।

कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील सदस्य बनाएको छ। बारा, सप्तरीलगायत छ जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशीलबारे विवाद छ। १३ औं महाधिवेशनमा ३३ क्षेत्रमा क्रियाशील विवाद हुँदा पुरानै क्रियाशील सदस्यबाट अधिवेशन गराइएको थियो।