१३ जेष्ठ २०८१, आईतवार
Follow Us

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७८, बिहीबार १२:५९

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए ।

उनले बिहीबार नै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका छन् । जसमा कांग्रेसबाट डिल्लीबहादुर चौधरी, नेकपा माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जनता समाजवादी पार्टीबाट सहसराम यादव, पुरमती ढेंगा र सुमन शर्मा रायमाझी र अजय शाही मन्त्री बनेका छन् । चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन् । अरु मन्त्रीहरुको मन्त्रालय तोकिएको छैन ।