काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका छन् ।
शनिबार काठमाडौँमा १४औँ महाधिवेशन अन्तर्गत काठमाडौँ महानगरको अधिवेशन उद्घाटन गर्दै नेता सिंहले अहिलेको नेतृत्वको कै कारण पार्टी कमजोर भएको भन्दै आगामी महाविधेशनबाट पार्टीलाई जीवन्त राख्न र कांग्रेसलाई सक्षम बनाउनका लागि आफू पार्टी नेतृत्वमा आउन चाहेको बताएका हुन् ।
उनले लोकतन्त्रलाई बलियो बनाउँदै आम नेपालीले सोचेको मुलुक बनाउन आफू केन्द्रीय पार्टी सभापतिमा लड्न लागेको जानकारी दिए । नेता सिंहले उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई सानो देख्ने तर बाहिरबाट आएको नेतालाई ठुलो देख्ने रहेको गुनासो गरे । उनले आफू पार्टी नेतृत्वका लागि कुनै पनि आधारमा अयोग्य नभएको तर्क गरे ।
पार्टी नेतृत्वमा पुगेका नेताहरुले मुलुकको परिवर्तनमा असाधारण योगदान दिएपनि अब भने विश्राम दिने बेला आएको उनको भनाइ छ । उनले पार्टीलाई असफल बनाउने नेताहरुलाई अब दोहर्याउन नहुने धारणा राखे । नेता सिंहले महाविधेशनको प्रक्रिया सुरु भइरहेकाले क्रियाशील सदस्यता विवादलाई टुङ्ग्याउनुपर्ने जिकिर गरे ।