 नेपालब्रिटेन डट कम्
                    नेपालब्रिटेन डट कम् 
            
            लन्डन। बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजावेथ द्वीतीयासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
बिहीबार मध्यान्ह बकिङहम प्यालेसमा आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
कोभिडको जोखिमका कारण महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझिन्। त्यसक्रममा उनले राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिंदै उनको पालामा बेलायत- नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन् ।
राजदूत आचार्यसंगको १० मिनेट लामो संवादमा महारानीले विगतमा आफूले दुई पटक नेपाल भ्रमण गर्दाको स्मरण गर्दै नेपालको सुन्दरताको प्रशंसा गरेकी थिइन्।

बेलायतको लागि नेपालको २२ औँ राजदूतका रुपमा नियुक्त भएका आचार्यले गत फेब्रुअरी २३ देखि आफ्नो कार्यभार सम्हालेका थिए। 
ओहोदाको प्रमाणपत्र पेश गर्न जान राजदूतका लागि बकिङहम प्यालेसबाट परम्पराअनुसार विशेष बग्गी पठाइएको थियो । पत्नीसहित राजदूत आचार्य सोही बग्गी चढेर समारोहमा भाग लिन बकिङहम प्यालेस पुगेका थिए।
बकिङहम प्यालेसको समारोहपछि राजदूत आचार्यलाई बग्गीमै चढाएर लन्डन दूतावाससम्म पुर्याएर छोडिएको थियो।