मुख्य समाचार

बेलायती सभामुख र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

लन्डन । बेलायत भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज संयुक्त अधिराज्य (यूके) हाउस अफ कमन्सका सभामुख सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गरेका छन् ।

भेटका अवसरमा उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसद भ्रमण तथा अनुभव आदानप्रदान र भूपू गोर्खासम्बन्धी विषयमा विचार आदानप्रदान भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

उक्त भेटमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल सहभागी थिए ।

यसै सिलसिलामा अध्यक्ष तिमिल्सिना २४ अक्टोबर २०२२ मा बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष वीरेन्द्र शर्माले आयोजना गरेको दिवाभोजमा सहभागी भए ।

अध्यक्ष तिमिल्सिना बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कंदै छन् ।

प्रेस विज्ञप्ति
राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेशप्रसाद तिमिल्सिनाज्यूले आज संयुक्त अधिराज्यका हाउस अफ कमन्सका सभामुख सम्माननीय सर लिण्ड्से होयलसँग बेलायती संसद भवनमा भेटवार्ता गर्नुभयो। भेटका अवसरमा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयहरु विशेषगरी दुई देशका संसदहरुबीच भ्रमण तथा अनुभवको आदानप्रदान, भू.पू. गोर्खासम्बन्धी विषयहरुमा विचारहरुको आदानप्रदान भयो। संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य, समावेशी आयोगका माननीय सदस्य श्री पुष्पराज तिमिल्सिना एवं राजदूतावासका उप नियोग प्रमुख उक्त भेटमा सहभागी हुनुहुन्थ्यो।यसै सिलसिलामा हिजो २४ अक्टोबर २०२२ मा बेलायतको संसदमा रहेको बेलायत-नेपाल मैत्री समूहका अध्यक्ष माननीय श्री वीरेन्द्र शर्माले उहाँको सम्मानमा आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुभयो।सम्माननीय अध्यक्षज्यू बेलायतको एक हप्ताको अनौपचारिक भ्रमण सम्पन्न गरी आजै स्वदेश फर्कदै हुनुहुन्छ।

नेपाली राजदूतावास, लण्डन
२५ अक्टोबर २०२२

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्