२८ आश्विन २०८२, मंगलवार
Follow Us

आज बिपी कोइरालाको स्मृति दिवस

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८०, शनिबार ०३:५१

काठमाडौं । ६ साउन २०३९ मा बिपी कोइरालाको महाप्रस्थान भएको थियो । बिपी कोइराला आमकांग्रेसीका ‘सान्दाजु’ थिए भने, गणेशमान सिंहका ‘कोइरालाजी’ र कृष्णप्रसाद भट्टराईलगायत अन्य कतिपयका लागि ‘बिपी’ मात्र । विश्वेश्वर बाबु र बिपी बाबु भनेर सम्बोधन गर्नेहरू पनि थिए । उनलाई जेजस्तो तरिकाले सम्बोधन गरिए पनि यी तमाम सम्बोधनमा एउटा कुरो अन्तर्निहित थियो, असीम श्रद्धा र सम्मान । र, त्यो श्रद्धा र सम्मान कसैले थोपरेको थिएन । उनको व्यक्तित्वका कारण स्वस्फूर्त उब्जेको र जनताका तर्फबाट समर्पित थियो ।

बिपीको राजनीतिक उचाइ, उपलब्धि र योगदानबारे हजारौं पृष्ठ लेखिन सक्छ, लाखौं हरफ कोरिन सक्छ र कैयन चित्र उतार्न सकिन्छ । बिपीलाई फाँसी दिनुपर्छ भनेर उर्लनेहरू र उनलाई ‘अराष्ट्रिय तत्व’ भनेर उफ्रनेसमेत आज पनि बिपीको प्रशंसा गरेर थाक्दैनन् । कुनैबेला ‘अराष्ट्रिय तत्व’को बिल्ला भिराइएका बिपी कोइरालाको निधन हुँदा तत्कालीन राजा वीरेन्द्रले ‘उनको जीवनबाट युवापिँढीले देशप्रेमको पाठ सिकून्’ भनेका थिए । बिपीका तत्कालीन घोर विरोधी र उनीहरूका अधिकांश अनुयायीलाई आज ‘कांग्रेसले बिपीको विचार त्यागेको’मा चिन्ता लाग्नुबाटै बिपीको उचाइ के थियो र अझै छ भन्ने बुझ्न सकिन्छ ।

लोकप्रिय मानिएको वा तत्कालीन अवस्थामा आमरूपमा स्वीकारिएको मतको एकदमै विपरीत धारमा उभिन सक्ने र छोटो समयमै आफ्नो मतअनुसारको धारमा आममानिसलाई डो-याउन सक्ने बिपीको क्षमता अद्वितीय एवं अतुलनीय थियो । यसैले नै बिपीलाई सबैभन्दा अग्लो र बेग्लै बनाएको थियो र छ । साहित्यिक जगतमा पनि बिपीको विशिष्ट स्थान रहेको छ । उनको कृतिको सानो वाक्यांश उल्लेख गरौं, ‘ठुलो नबन्नु, असल बन्नु ।’

धेरै पढिएको