काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पक्षको ‘विद्रोही’ भेला भएको छ । बानेश्वर क्यापसमा खनाल पक्षको बैठक बसेको हो । यही भदौ २६ गतेदेखि केन्द्रीय समिति बैठक बस्न लागेकाले तयारीस्वरूप छलफल भएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य नरेश शाहीले जानकारी दिए ।
उनले भने, “विद्रोही पक्षको भेला होइन, आगामी पार्टी बैठकलाई प्रभावकारी बनाउनेबारे छलफल भयो ।” तर सम्मानित नेता खनालले पार्टीमा वैचारिक र विधि पद्धतिको खडेरी देखिएको बताए । उनले भने, “पार्टीमा वैचारिक समस्या देखिएकाले वैचारिक रूपमा चिर्न आवश्यक छ । पार्टीलाई विधि पद्धतिमा लगेर व्यवस्थित गर्नैपर्ने अवस्था देखिएको छ ।”
अध्यक्ष माधवकुमार नेपाल पक्षका नेता नराखी खनाल पक्षले बैठक राखेपछि पार्टीभित्र विवाद चर्किएको छ ।