काठमाडौं । एमालेले नवीकरण भइसकेको पार्टी सदस्यता खारेज गरेपछि आक्रामक रुपमा राजनीतिक गतिविधि बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको जारी दोश्रो विधान महाधिवेशनका प्रतिनिधिका नाममा भिडियो सन्देश जारी गरेकी छन् ।
यसअघि उनका समर्थकले शुक्रबार ललितपुरको गोदावरीस्थित महाधिवेशनस्थलमा भण्डारीको लिखित अपिल बाँडेका थिए । एमालेले भण्डारीलाई १०औं महाधिवेशनको प्रतिनिधि नभएको भन्दै विधान अधिवेशनमा प्रवेश गर्न रोक लगाएको छ ।
भण्डारीले आफूले पठाएको पत्र पढेर सुझाव दिन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेकी छन् ।
भण्डारीले आफूले लामो समयसम्म एमालेमा योगदान गरेको भए पनि पार्टी नेतृत्वले सदस्यताबाट बञ्चित गराएर अन्याय गरेको भनेकी छन् ।
उनले आफ्नो उद्धेश्य एमालेलाई बलियो बनाउने रहेको भन्दै सबै मिलेर ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य पूरा गर्नुपर्ने उल्लेख गरिन् ।
भण्डारीले एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिएकी छन् ।