ताजा खबर

मेघनका पिता थोमस मार्कल बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री राखेको आरोपमा अदालतमा उपस्थित

मेघन । डचेस अफ ससेक्सका पिता थोमस मार्कल बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री आफ्नो साथमा राखेको आरोप लागेपछि अदालतमा उपस्थित भएका छन्।

अमेरिकी न्याय विभाग (DoJ) का अनुसार बालबालिकामाथि यौन दुर्व्यवहार भएको देखाउने तस्बिरहरू राखेको आरोपमा उनी पक्राउ परेका हुन्।

८२ वर्षीय मार्कललाई अमेरिकाको फ्लोरिडाबाट पक्राउ गरिएको हो। त्यसअघि एफबीआईले लस एन्जलस क्षेत्रका उनले भाडामा लिएका दुईवटा भण्डारण कक्षमा खानतलासी गरेको थियो।

अमेरिकी न्याय विभागका अनुसार उनीमाथि बालबालिकासम्बन्धी अश्लील तस्बिर तथा सामग्री आफ्नो साथमा राखेको एउटा अभियोग लगाइएको छ। यसअघि मार्कलले आफूले त्यस्ता सामग्री राखेको आरोप अस्वीकार गर्दै त्यसलाई ‘घृणित झूट’ भनेका थिए।

मार्कलको अदालतमा भएको सुनुवाइ करिब ३० मिनेट चलेको थियो। अमेरिकी संघीय अभियोजक कोर्टनी डेरीले उनीमाथि लगाइएका आरोपहरू अदालतमा प्रस्तुत गरेकी थिइन्।

उनी ह्विलचेयरमा अदालत ल्याइएका थिए। उनका साथमा दुई जना अमेरिकी मार्सल पनि थिए। उनले कालो पाइन्ट र कालो टी-सर्ट लगाएका थिए।

अदालतले उनलाई फ्लोरिडास्थित आफू बस्दै आएको सहायक आवास सुविधामै घरमै नजरबन्दमा राख्न र इलेक्ट्रोनिक निगरानी गर्न आदेश दिएको छ।

सुनुवाइका क्रममा उनले आफू दोषी वा निर्दोष भएकोबारे कुनै औपचारिक बयान दिएका छैनन्। क्यालिफोर्नियामा हुने अर्को अदालती सुनुवाइको मिति पछि तय गरिने अमेरिकी न्याय विभाग र केन्द्रीय क्यालिफोर्नियास्थित अमेरिकी अभियोजन कार्यालयले संयुक्त वक्तव्यमा बताएका छन्।

एफबीआई निर्देशक काश पटेलले मार्कललाई पक्राउ गर्न अधिकारीहरूले शीघ्र कारबाही गरेको बताएका छन्।

उनले मार्कलमाथि निर्दोष बालबालिकालाई लक्षित गरी उनीहरूको बाल्यकाल र सुरक्षामाथि आघात पुर्‍याउने आपराधिक गतिविधिमा संलग्न भएको आरोप रहेको बताए।

पटेलले बालबालिकाको सुरक्षाका लागि एफबीआईले उपलब्ध सबै स्रोतसाधन प्रयोग गर्ने र बालबालिकालाई लक्षित गर्ने अपराधीले कतै पनि सुरक्षित आश्रय नपाउने चेतावनी दिएका छन्।
भण्डारण कक्षबाट ७८ सामग्री बरामद
एफबीआईले अदालतबाट अनुमति लिएर लस एन्जलस क्षेत्रका मार्कलको नाममा दर्ता भएका दुईवटा भण्डारण कक्षमा खानतलासी गरेको थियो।

मार्कलले सन् २००८ देखि ती कक्ष भाडामा लिँदै आएको बताइएको छ।

एफबीआईका अनुसार खानतलासीका क्रममा करिब ७८ वटा सामग्री बरामद गरिएको थियो। तीमध्ये फिल्मका नेगेटिभ, स्लाइड र पुस्तकहरू रहेका थिए। अनुसन्धानकर्ताहरूले ती सामग्रीमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री रहेको आरोप लगाएका छन्।

यस घटनाबारे मेघन र उनका पति प्रिन्स ह्यारीले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम