२३ भाद्र २०८२, सोमबार
Follow Us

जेनजी विद्रोह : देश अशान्त

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०८२, सोमबार १३:२१

काठमाडौँ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि सरकारले अकस्मात् लगाएको प्रतिबन्धले देशभरको वातावरण अशान्त र तनावग्रस्त बनेको छ । आफ्नो जीवनशैलीसँग सामाजिक सञ्जाललाई गाँसेर हुर्किएको ‘जेन जेड’ पुस्ताले यस कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार मानेर सडक आन्दोलन सुरु गरेपछि मुलुक हिंसात्मक अवस्थातर्फ भड्किएको छ ।

आन्दोलन सुरुमा शान्तिपूर्ण थियो । तर सोमबार दिउँसो काठमाडौँदेखि विराटनगर, पोखरा, चितवन, बुटवल हुँदै हेटौँडा, इटहरीसम्म फैलिएको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा राजधानीसहित विभिन्न शहर र बजार अशान्त बनेका छन् ।

आन्दोलनमा १८ को ज्यान गयो, ५० भन्दा धेरै घाइते
उपत्यका लगायतका विभिन्न अस्पतालमा उपचाररत १८ जना प्रदर्शनकारीको ज्यान गएको बताइएको छ भने ५० भन्दा धेरै घाइते भएका छन् । आन्दोलन अहिले पनि जारी रहेकोले यथार्थ विवरण भने आउन सकेको छैन ।

प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले हवाई फायरिङसहित रबरको गोली प्रहार गरेपछि अवस्था झन् जटिल बनेको छ । प्रहरीले भीड नियन्त्रण गर्ने क्रममा चलाएको गोलीको छर्राले पत्रकारसमेत निसाना बनेका छन् ।

कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुङ्गाना र नेपाल प्रेसका पत्रकार उमेश कार्की घाइते भएका पुष्टि भएको छ । उनीहरू हाल विभिन्न अस्पतालमा उपचाररत छन् ।

पत्रकारमाथिको आक्रमणलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको गम्भीर आघातको रूपमा पत्रकार महासङ्घले व्याख्या गरेको छ । महासङ्घले तत्काल घाइते पत्रकारहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन र उनीहरूको सुरक्षित पुन:स्थापनाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ । साथै, आन्दोलनरत नागरिकहरूमाथि दमन रोक्न र शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराइएको छ ।

यस्तै यता बानेश्वरस्थित हिमालयन जाभाका सञ्चालक शान्त कुमार मेहेता झ्यालको सिसाबाट छिरेको गोली लागेर घाइते भए । उनलाई तत्काल अस्पताल लगिएको छ ।

देशभर फैलिएको प्रदर्शन
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित युवाहरूले काठमाडौँ मात्र होइन, हेटौँडा, पोखरा, बुटवल, चितवन, विराटनगरलगायतका सहरमा प्रदर्शन गरेका छन् । पोखरामा मिलन चोक नजिकै सरकारी बा २ झ ४२२ नम्बरको गाडी तोडफोड भयो भने चितवनमा पनि आन्दोलन चर्किएको छ ।

रुपन्देहीमा प्रशासनले बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी गरेको छ । त्यस्तै, सुनसरीको इटहरीमा हिंसात्मक आन्दोलनपछि सिडिओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना नभएसम्म कर्फ्यु आदेश जारी गरेका छन् ।

बुटवलमा प्रदर्शनकारीहरूले नेकपा एमाले पार्टी कार्यालयसम्म घेराउ गर्न पुगेका छन् । यसअघि उनीहरूले उपमहानगरपालिकाको गेट अगाडि प्रदर्शन गर्दै राजमार्गमा समेत चर्को विरोध प्रदर्शन गरेका थिए ।

आन्दोलनकारीहरूले संसद् भवनको दुई नम्बर गेटमा आगजनी गरेपछि प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित हुन पुगेको थियो गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृह सचिव गोकर्णमणि दुवाडी आकस्मिक छलफलका लागि बाहिरिएपछि बैठक रोकिएको हो ।

कर्फ्यु र सेनाको तैनाथी
काठमाडौँ प्रशासनले आन्दोलन नियन्त्रण गर्न कर्फ्यु क्षेत्र विस्तार गरेको छ । सुरुमा बानेश्वर-तीनकुने क्षेत्रमा लागू गरिएको कर्फ्यु पछि शीतल निवास, लैनचौर, सिंहदरवार, नारायणहिटीसहितका संवेदनशील क्षेत्रमा पनि विस्तार गरिएको छ । कर्फ्यु राति १० बजेसम्म जारी रहने प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंहदरवार, संसद् भवन, राष्ट्रपति-उपराष्ट्रपति कार्यालयलगायत संरचना सुरक्षार्थ नेपाली सेना तैनाथ गरिएको छ ।

प्रधानमन्त्री ओलीको व्यस्तता र आलोचना
आज देशभर आन्दोलन उग्र बन्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली भने बागलुङको कार्यक्रममा सहभागी थिए । उनी गलकोट नगरपालिकामा सर्वपक्षीय मागअनुसार इलाका प्रशासन कार्यालय खोल्ने आश्वासन दिएर फर्किएपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भए ।

यसैबीच मन्त्रिपरिषद्को बैठक बोलाएको छ । बैठक आजै साँझ ६ बजे बालुवाटारमा बस्ने तय भएको बैठक नियमित भए पनि आजको जेन जेड आन्दोलन र यसले पारेको प्रभावमा बढी केन्द्रित हुने जनाइएको छ ।

राजनीतिक नेतृत्वमाथि प्रश्न !
प्रतिनिधि सभाकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत भनिन्, “प्रधानमन्त्रीज्यू, तपाईँले आफ्नो वैधता गुमाउनु भएको छ । अब राजीनामा दिनैपर्छ ।”

माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले पनि सरकारले दमन गरेको भन्दै आलोचना गरेका छन् । उनले आन्दोलनलाई दमनका माध्यमबाट नभई मागलाई सम्बोधन गर्दै समाधान खोज्नुपर्ने बताएका छन् ।

शर्माले थपे, “सबैले आफ्ना कमजोरी स्वीकार गरी जनतासँग माफी माग्नुको विकल्प छैन । आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ ।”

जेन जेड पुस्ताको भूमिका
जेन-जेड भन्नाले सन् १९९७ देखि २०१२ बीच जन्मिएका पुस्तालाई बुझिन्छ । यो पुस्ता डिजिटल नेटिभ्सका रूपमा चिनिन्छ किनभने उनीहरूले जीवनको सुरुवातदेखि नै इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालसँगै हुर्किएका छन् । उनीहरूको दैनिकी सामाजिक सञ्जाल, अनलाइन स्ट्रिमिङ र डिजिटल सामग्रीसँग गहिरो रूपमा गाँसिएको हुन्छ ।

त्यसैले, सामाजिक सञ्जालमाथि गरिएको प्रतिबन्ध उनीहरूको अस्तित्वमाथिको प्रहार सरह भएको अनुभूति गरेका छन् । यही कारणले उनीहरू स्वतःस्फूर्त आन्दोलनमा उत्रिएका छन् ।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्धले मुलुकलाई गम्भीर राजनीतिक-सामाजिक सङ्कटतर्फ धकेलेको छ । आन्दोलनरत जेन जेड पुस्ता स्वतन्त्रता र पारदर्शिताको माग गर्दै सडकमा उत्रिएका छन् भने सरकार दमन र नियन्त्रणमार्फत समस्या समाधान गर्ने बाटोमा देखिन्छ । तर, पत्रकारमाथि आक्रमण, सर्वसाधारणको मृत्यु र सैनिक परिचालनले यो सङ्कटलाई अझ गहिरो बनाएको छ ।

धेरै पढिएको