काठमाडौं । शिक्षामन्त्री महावीर पुनले युवा पुस्ता (जेन-जी) लाई राष्ट्रिय हित र सार्वभौमसत्ताको रक्षाका लागि गुटबन्दी तथा खुट्टा तान्ने प्रवृत्ति त्याग्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत ६ बुँदे अपिल जारी गर्दै मन्त्री पुनले नेपालको इतिहासबाट पाठ सिक्दै एकताको मार्गमा अघि बढ्न सुझाव दिएका हुन् ।
उनले आफ्नो सन्देशमा भनेका छन्, ‘मेरो अनुरोध जेन-जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई छ । गुटबन्दी र खुट्टा तानातान गर्यो भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पानाबाट पनि सिकौँ ।’
मन्त्री पुनले नेपालको राजनीतिक इतिहासमा गुटबन्दी र आन्तरिक कलहले पारेका नकारात्मक प्रभावहरूलाई स्मरण गराएका छन्:
१०४ वर्षे राणा शासन: नेपाली जनताले लामो समयसम्म निरंकुश राणा शासन भोग्नुपरेको मुख्य कारण आन्तरिक गुटबन्दी नै थियो।
राजतन्त्रकाल: राजतन्त्र हुँदा पनि राजनीतिक शक्तिहरूबीचको गुटबन्दीले अस्थिरता निम्त्यायो।
२०१७-२०४६ (बहुदलीय काल): बहुदलीय व्यवस्थाको अभ्यासका क्रममा पनि दलहरूभित्रको गुटबन्दीले अपेक्षित परिणाम दिन सकेन।
२०४६-२०८२ (प्रजातन्त्र बहाली): प्रजातन्त्र पुनर्स्थापनापछिको अवधिसम्म पनि राजनीतिक दलहरूबीचको चरम आन्तरिक गुटबन्दी र खुट्टा तान्ने प्रवृत्तिले देशको विकासमा बाधा पुर्यायो।
मन्त्री पुनले जेन-जीलाई एउटा निश्चित उमेर समूहको युवा शक्ति भन्दै उनीहरूको काँधमा मातृभूमिको अस्तित्व र समृद्धिको महत्त्वपूर्ण जिम्मेवारी रहेको औंल्याएका छन् । ‘मातृभूमिको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु कि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोऱ्याउनु होस्,’ उनले भने ।