काठमाडौं । जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख घिमिरेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि अदालत जाने तयारी गरिरहेको सन्दर्भमा दलहरूको धारणा बुझेका हुन् ।
सभामुख घिमिरेले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आएका छन् । नेकपा एमाले र नेपाली काँग्रेससहितका प्रमुख दलहरूले पनि संसद् विघटन संविधानसम्मत नरहेको बताएका छन् । एमालेले पदाधिकारी बैठकबाटै विघटनविरुद्ध अदालत जाने निर्णय गरिसकेको छ भने काँग्रेसले केन्द्रीय समिति बैठकबाट यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।
यही सन्दर्भमा सभामुखले विघटन हुनुअघिको प्रतिनिधिसभामा सहभागी दलका प्रमुख सचेतकहरूसँग पार्टीको आधिकारिक धारणाबारे छलफल गरेका हुन् । बैठकमा नेकपा एमाले, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाललगायतका दलका प्रतिनिधिहरू सहभागी थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि भने उपस्थित थिएनन् ।