३ मंसिर २०८२, बुधबार
Follow Us

लुटिएका हतियार फिर्ता गर्न गृहले विशेष अपरेसन चलाउने

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८२, आईतवार ११:५०

काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरू फिर्ता ल्याउन गृह मन्त्रालयले विशेष अपरेसन सञ्चालन गर्ने भएको छ । आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिएका हुन् ।

उनकाअनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरू प्रस्तुत गर्न गठित कार्यदलको कामकारबाहीबारे समेत समीक्षा भएको छ । उनले बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई मुख्य जिम्मेवारी दिने निर्णय भएको पनि बताए । उनले आन्दोलनको क्रममा जेलबाट भागेका कैदीहरूलाई कारागार फिर्ता गर्न सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको पनि बताए ।

उनले भने ‘हामीले यसअघिको बैठकमा निर्वाचनको तयारीसँग सम्बन्धित रणनीतिक योजनाहरू प्रस्तुत गर्न एउटा कार्यदल बनाएका थियौँ । आजको बैठकमा उसले गरेको कामको समीक्षा गर्यौं । निर्वाचनको लागि सोअनुरूप हामीले आफू मातहतको निकायहरूलाई परिचालित गर्नुपर्ने हुन्छ । कार्यदलले दिएका रणनीतिक योजनाहरू हामी प्रमुख जिल्ला अधिकारीमार्फत कार्यान्वयन गराउँछौँ ।

प्रमुख जिल्ला अधिकारीको पहिलो प्राथमिकता नै अब निर्वाचन हुन्छ । त्यसबारे निर्णय गरेका छौँ । जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउनको लागि विशेष कार्यक्रम चलाउँछौँ । आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुलाई फिर्ता ल्याउनको लागि पनि थप कार्यक्रमहरू ल्याउँछौँ ।

निर्वाचनको वातावरण बनाउनको लागि शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनको लागि सुरक्षा निकायहरूको जोइन्ट पेट्रोलिङ गर्ने कुराहरू पनि साथसाथै अगाडि बढाउँछौँ ।’ उनले निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलहरूले समाजमा रहेका अपराधीहरूलाई दुरुपयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने समेत बताए ।

धेरै पढिएको