११ कार्तिक २०८२, मंगलवार
Follow Us

कुटपिटबाट महिलाको हत्या, चार जना पक्राउ

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०८२, मंगलवार १३:१५

सिरहा । लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको आरोपमा कुटपिट हुँदा करिब ५० वर्षीया नुरजहाँ खातुनको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी लहानस्थित प्रादेशिक अस्पताल पुर्‍याए । अस्पतालमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले घटनामा संलग्न तीन महिला र एक पुरुष गरी चार जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् । मृतकको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

स्थानीय स्रोतका अनुसार नुरजहाँ खातुन खुट्टी खोलाको किनारमा छठ पूजाको घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएकी थिइन् ।

मंगलबार एक युवकले पसलबाट सामान चोरी गरेको आरोपमा उनले युवकका हजुरबालाई गुनासो गरेकी थिइन् । यसपछि परिवारका सदस्यहरूले ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै उनलाई निर्घात कुटपिट गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ ।

धेरै पढिएको