११ कार्तिक २०८२, मंगलवार
Follow Us

नेप्से ६२ अंकले बढ्यो, विकास बैंक र हाइड्रो समूहमा उल्लेखनीय सुधार

नेपालब्रिटेन संवाददाता
११ कार्तिक २०८२, मंगलवार १३:१६

काठमाडौँ । मंगलबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२.२९ अंकले बढ्दै २५७१ अंकमा पुगेको हो ।

बजार खुल्दा केही समय सूचकमा हल्का गिरावट आए पनि त्यसपछि लगानीकर्ताको आकर्षण बढेपछि सूचक हरियोमै बन्द भएको हो । कारोबार रकममा पनि उल्लेखनीय सुधार देखिएको छ । आइतबारको २ अर्ब ७९ करोड रुपैयाँको तुलनामा मंगलबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा २३६ कम्पनीका शेयर मूल्य बढे, १२ कम्पनीका घटे भने २ कम्पनीका मूल्य यथावत रहे ।

क्षेत्रगत सूचकहरू मध्ये विकास बैंक समूह सबैभन्दा अगाडि रह्यो, जसमा ४.४७ प्रतिशत वृद्धि भयो । त्यसपछि हाइड्रोपावर समूह ३.९० प्रतिशत, जीवन बीमा ३.५५ प्रतिशत, लगानी समूह ३.१९ प्रतिशत, फाइनान्स ३.१४ प्रतिशत, होटल तथा पर्यटन २.८० प्रतिशत, माइक्रोफाइनान्स २.५९ प्रतिशत, निर्जीवन बीमा २.५४ प्रतिशत, बैंकिङ १.९२ प्रतिशत र अन्य समूह १.९१ प्रतिशतले बढे ।

तीन कम्पनीका शेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट लाग्ने स्तरमा पुगे। ती कम्पनीहरूमा न्यादी हाइड्रोपावर, बुटवल पावर कम्पनी र एक्सल डेभलपमेन्ट बैंक परे । त्यसैगरी, राधि विद्युत कम्पनीको मूल्य ९.६० प्रतिशत, लुम्बिनी विकास बैंकको ९.३५ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ८.२१ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सको ८.१२ प्रतिशतले बढेको छ ।

उता, हिमालयन पावर पार्टनरको शेयर मूल्य ६.३६ प्रतिशतले घट्दै आजको सबैभन्दा कमजोर प्रदर्शन गर्ने कम्पनी बन्यो । युनिलिभर नेपाल ३.८८ प्रतिशत र बोटलर्स नेपाल बालाजु ३.७७ प्रतिशतले घटे ।

मंगलबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत कम्पनी, बुटवल पावर कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन् ।

बजार विश्लेषकहरूको भनाइमा हाल लगानीकर्तामा पुनः विश्वास बढ्न थालेको छ । विशेषगरी विकास बैंक र हाइड्रोपावर समूहमा देखिएको सक्रियताले बजारलाई सकारात्मक दिशातर्फ उकासेको जनाइएको छ ।

धेरै पढिएको