१८ मंसिर २०८२, बिहीबार
Follow Us

राजनीतिक दल र एनआरएनए भेटघाट (फोटो फिचर)

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०८२, बिहीबार १३:१३

काठमाडौँ । लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका विभिन्न राजनीतिक दलहरूसँगको भेटघाटलाई तीव्र पारेको छ। नेपालमा भएको जेन–जी आन्दोलनपछि १२ औँ महाधिवेशन स्थगित गर्दै असन्तुष्ट पक्षसँग छलफलमा उत्रिएको संघभित्र हालै पुनः एकता कायम गरिएको थियो। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सम्पन्न एकतापश्चात् संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले राजनीतिक भेटघाटको सिलसिला अघि बढाएका हुन्।

संघभित्रका विवादका कारण पूरा हुन नसकेका मागहरूप्रति ऐक्यबद्धता जनाउन तथा संस्थाभित्र वास्तविक एकता कायम भएको सन्देश दिन उनीहरू विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसम्म पुगेका छन्। भेटघाटका क्रममा संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकता, लगानीका सम्भावना र संघका दीर्घकालीन एजेन्डाबारे नेताहरूसमक्ष विस्तृत रूपमा आफ्नो धारणा राखेका छन्।

यसैबीच संघका पूर्वअध्यक्ष तथा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोसहितको प्रतिनिधि मण्डलले पनि राजनीतिक दल र नेपाल सरकारका उच्च अधिकारीहरूसँग भेटघाट गर्दै गैरआवासीय नेपालीहरूको आवाज सशक्त रूपमा उठाएको छ। टोलीले नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तथा ऊर्जा मन्त्री कुलमान घिसिङसँग क्रमशः भेटघाट गरेको छ।

यसअघि सो टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग गैरआवासीय नेपाली संघका प्रमुख मुद्दाहरूमा छलफल गरेको थियो। संघले अब जेन–जी आन्दोलनका अगुवाहरूसँग पनि भेटवार्ता गर्न आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।

 

धेरै पढिएको