काठमाडौं । धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग भेट नगर्ने बताएका छन् । बालेनले गोपी हमालदेखि हर्क साम्पाङसम्म मिलाउने काम आफूले गर्ने बताएपछि साम्पाङले यसमा आफू सामेल नहुने स्पष्ट पारेका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनका बेला प्रधानमन्त्री बन्न दौडधुप गरेका साम्पाङ त्यतिबेला आफूलाई समर्थन र सहयोग नगरेको भन्दै बालेनसँग रुष्ट छन् । त्यसयता उनले बालेनविरुद्ध निरन्तर सामाजिक सञ्जालमा लेखिरहेका छन् । शुक्रबार बिहानै उनले बालेनको नाम नलिईकन फेसबुकमा लेखेका छन्, ‘मिडिया ट्रायल गर्न छोड ! जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन। अफवाह फैलाउन छोड !’
राजनीतिक भेटघाटमा सक्रिय बालेनले हिजो एकै दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपाका सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङलगायतसँग भेटवार्ता गरेका छन् । उनले जेनजीको जिम्मा रक्षा बमलाई दिँदै आफूले गोपी हमालदेखि हर्कसम्म सैलाई मिलाउने बताएका थिए ।