८ फाल्गुन २०८२, शुक्रबार
Follow Us

प्रधानाध्यापक र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
१३ पुष २०८२, आईतवार १३:३४

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उमेर हद नाघेकी शिक्षिकालाई गैरकानुनी रूपमा नियुक्ति दिएको आरोपमा काठमाडौँको टोखास्थित श्री मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र एक शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

आयोगले विद्यालयका तत्कालीन प्रधानाध्यापक वासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध आइतबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

माध्यमिक तहको शिक्षक पदमा नियुक्तिका लागि ४० वर्ष उमेर हद नाघ्न नहुने कानुनी व्यवस्था छ। तर, शिक्षिका कल्पना पनेरुको उमेर ४० वर्ष कटिसकेको अवस्थामा पनि प्रधानाध्यापक अधिकारीसँगको मिलेमतोमा किर्ते कागजात तयार पारी नियुक्ति लिए/दिएको पाइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकामा टिपेक्स लगाई सच्याएर, केरमेट गरी र थपघट गरेर पुरानो मिति राखी नक्कली निर्णय तयार पारेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ। उनीहरूले बहालवाला शिक्षिकाको हकमा उमेर हद नलाग्ने प्रावधानको दुरुपयोग गर्नका लागि गलत लिखत तयार पारेको आयोगले जनाएको छ।

आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिमको कसुरमा कैद र जरिवानाको माग दाबी गरेको छ।

धेरै पढिएको