९ माघ २०८२, शुक्रबार
Follow Us

जेनजी आन्दोलनको क्षति : ५ अर्ब ४८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८२, शुक्रबार ०५:५६

काठमाडौं । हालैको ‘जेनजी आन्दोलन’ का क्रममा भएको ठूलो भौतिक क्षतिको भरणपोषण स्वरुप बीमा कम्पनीहरूले दाबी भुक्तानी प्रक्रियालाई तीव्रता दिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार, निर्जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई हालसम्म करिब ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरिसकेका छन् ।

आन्दोलनका क्रममा क्षति पुगेका संरचना तथा सवारी साधनसहित कूल ३ हजार ३ सय १६ वटा बीमा दाबी परेका थिए । यी दाबीहरूको कुल रकम २३ अर्ब ४७ करोड रुपैयाँ हाराहारी रहेको छ । सोमध्ये कम्पनीहरूले अग्रिम भुक्तानी (एड्भान्स पेमेन्ट) समेत गरी ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बीमितलाई बुझाइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्क हेर्दा सम्पत्ति (प्रपर्टी) बीमातर्फ सबैभन्दा ठूलो रकम भुक्तानी भएको देखिन्छ । सम्पत्ति बीमातर्फ परेका ७१२ वटा दाबीको १९ अर्ब ५ करोड रकममध्ये हालसम्म ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ भुक्तानी भएको छ ।

यस्तै, संख्याका आधारमा सबैभन्दा धेरै दाबी परेको मोटर बीमातर्फ पनि उल्लेख्य भुक्तानी भएको छ । मोटर बीमामा परेका २ हजार ३२१ दाबीको ३ अर्ब ४६ करोड १६ लाख माग रकममध्ये १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

प्राधिकरणका अनुसार इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२६ वटा दाबी परेका थिए, जसको ५५ करोड ३९ लाख दाबी रकममध्ये ८ करोड ३६ लाख रुपैयाँ भुक्तानी भएको छ ।

त्यसैगरी, परिवहन (मेरिन) बीमातर्फ १२ वटा दाबीको १ करोड ६९ लाखमध्ये १ करोड ५५ लाख र अन्य विविध बीमातर्फ ४५ वटा दाबीको ३८ करोड ४० लाखमध्ये ५ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित फरफारक गरिएको छ ।

यसैबीच, नेपाल पुनर्बीमा कम्पनीले पनि दायित्व वहन गर्दै निर्जीवन बीमा कम्पनीहरूलाई रकम उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार पुनर्बीमा कम्पनीमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट २ हजार ८६३ वटा दाबी परेका थिए, जसको कूल रकम १६ अर्ब ६२ करोड ६६ लाख रहेको छ । सोमध्ये पुनर्बीमा कम्पनीले करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी स्वरूप निर्जीवन बीमा कम्पनीहरूलाई उपलब्ध गराएको जानकारी प्राधिकरणले दिएको छ ।

धेरै पढिएको