काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँचौँपटक निर्वाचन क्षेत्र फेर्ने तयारीमा छन् । २०७९ सालमा गोरखा–२ बाट विजयी प्रचण्डले यो क्षेत्र यसपटक छोड्ने निश्चितप्रायः भएको छ ।
पार्टीभित्रको आन्तरिक छलफलमा गोरखा–२ बाट लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाउने तयारी भएको छ । न्यौपानेले चुनावी अभियानसमेत सुरु गरिसकेका छन् । प्रचण्डले पनि निकटस्थहरूसँग गोरखा–२ बाट लेखनाथ नै लड्ने बताउँदै आएका छन् ।
शान्ति प्रक्रियामा आएदेखि प्रचण्डले कुनै पनि निर्वाचन क्षेत्र दोहोर्याएर लडेका छैनन् । २०६४ मा रोल्पा (पछि काठमाडौं–१० रोजे), २०७० मा सिरहा–५ (काठमाडौं–१० मा पराजित), २०७४ मा चितवन–३ र २०७९ मा गोरखा–२ बाट लडेका उनी यो पटक फेरि नयाँ क्षेत्र खोज्दै छन् ।
नेकपाका एक नेताका अनुसार प्रचण्डको क्षेत्रबारे औपचारिक छलफल भएको छैन । तर, पार्टीभित्र रुकुम पूर्व र सिन्धुलीको नाम चर्चामा छ । दुवै क्षेत्र नेकपाको प्रभावशाली मानिन्छ । भौगोलिक रूपमा सानो र मतदाता संख्या कम भएको रुकुम पूर्वलाई प्रचण्डका लागि सबैभन्दा सुरक्षित मानिएको छ ।
रुकुम पूर्वमा हाल ३४ हजार ९६३ मतदाता छन् । २०७९ मा माओवादीका पूर्ण घर्तीले १२ हजार २६२ मत ल्याएर विजयी भएका थिए भने एमालेका कैलाश मल्लले ५ हजार २११ मत पाएका थिए ।
प्रचण्डले यसअघि गोरखाबाट उम्मेदवारी दर्ता गर्दा आफू देशका विभिन्न भाग घुम्दै चुनाव लड्ने पहिलो नेता भएको दाबी गरेका थिए । उनले रोल्पा, काठमाडौं, सिरहा, चितवन र गोरखाबाट लडिसकेका छन् । चितवन–३ बाट २०७४ मा विजयी हुँदा मात्र उनले आफैंलाई मत हालेका थिए । अन्य सबै निर्वाचनमा आफू उम्मेदवार नभएको क्षेत्रमा मतदान गरेका छन् ।
यो पटक पनि क्षेत्र फेरेमा प्रचण्डले आफैंलाई भोट हाल्न पाउने छैनन् । उम्मेदवारी दर्ता गर्न १२ दिन मात्र बाँकी रहँदा नेता–कार्यकर्ता उनको क्षेत्रबारे अन्योलमा छन् ।
नाम, पार्टी र गठबन्धन फेरिरहने रेकर्ड
प्रचण्डले निर्वाचन क्षेत्र मात्र होइन, आफ्नो नाम छपटक, पार्टीको नाम सातपटक र गठबन्धन आठपटक फेरेका छन् ।
नाम फेरिएको इतिहास : स्कुलमा छविलाल दाहाल, १० कक्षापछि पुष्पकमल दाहाल, जनयुद्ध सुरुमा कल्याण, विश्वास, निर्माण र अन्त्यमा प्रचण्ड ।
पार्टीको नाम : पुष्पलाल समूह → नेकपा (मशाल) → नेकपा (एकता केन्द्र) → नेकपा (माओवादी) → एकीकृत माओवादी → माओवादी केन्द्र → नेकपा → अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ।
गठबन्धनको खेल : संसदीय राजनीतिमा आएपछि एमाले, कांग्रेस, मधेशवादी र साना दलहरूसँग पटक–पटक गठबन्धन/विच्छेद गरेका प्रचण्डले पछिल्लो समय गठबन्धनको राजनीति छोडेर नयाँ पार्टी निर्माणमा जोड दिएका छन् ।