लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन अनिवार्य रूपमा Members Registration System (MRS) मार्फत सदस्यता लिनुपर्ने भएको छ। एमआरएस प्रणालीमा प्रमाणीकरण भएका सदस्य मात्र महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था गरिएको छ।
गैरआवासीय नेपाली संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै गैरआवासीय नेपालीलाई एमआरएस प्रणालीमार्फत सदस्यता दर्ता गर्न आह्वान गरेका छन्। विज्ञप्तिमा यसअघि विभिन्न माध्यमबाट सदस्यता लिएका सदस्यहरूलाई समेत एमआरएस प्रणालीमा समावेश गरी पुनः प्रमाणीकरण गरिने स्पष्ट गरिएको छ।
संघले बृहत् एकतापछि गठन गरेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ले १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी २३ देखि २५ फेब्रुअरी २०२६ सम्म आयोजना गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनको तयारी प्रक्रिया तीव्र रूपमा अघि बढाइएको संघले जनाएको छ।
बृहत् एकतापश्चात् गठन भएको स्टेरिङ कमिटीले महाधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी र व्यवस्थित ढंगले अघि बढाइरहेको जनाइएको छ। यस क्रममा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकता तथा सहजीकरण समिति र सदस्यता व्यवस्थापन समिति गठन भई सक्रिय रूपमा कार्यरत रहेका छन्।
संघका अनुसार यसअघि Member Information System (MIS), High Level Committee (HLC) को पोर्टल तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूले समानान्तर रूपमा सञ्चालन गरेका पोर्टलमार्फत सदस्य बनेका सबै सदस्यहरूको विवरण प्रमाणीकरण गरी एमआरएस प्रणालीमा समायोजन गरिनेछ।
हालसम्म कुनै पनि माध्यमबाट सदस्यता नलिएका विश्वभर रहेका गैरआवासीय नेपालीहरूलाई १६ जनवरी २०२६ भित्र एमआरएस प्रणालीमार्फत सदस्यता दर्ता गरी महाधिवेशनमा सहभागी हुन संघले आग्रह गरेको छ।
विज्ञप्तिको अन्त्यमा आपसी एकता, सहकार्य र सहभागितामार्फत १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गरिएको छ।
