२८ पुष २०८२, सोमबार
Follow Us

कांग्रेसको विशेष महाधिवेशन : बन्दसत्रमा सबैको नजर

नेपालब्रिटेन संवाददाता
२८ पुष २०८२, सोमबार ०३:५२

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत आज सोमबारबाट बन्दसत्र प्रारम्भ हुँदैछ । आइतबार भव्य समारोहका बीच उद्घाटन भएको महाधिवेशनको दोस्रो दिन आज नीतिगत बहस र सांगठनिक संरचनामा केन्द्रित रहेर बन्दसत्र सञ्चालन हुन लागेको हो ।

महाधिवेशन प्रचार प्रसार समितिका संयोजक सुभास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेबाट बन्दसत्रको औपचारिक सुरुवात हुने कार्यतालिका रहेको छ । सत्रको प्रारम्भमा विशेष महाधिवेशन सञ्चालनका लागि आवश्यक पर्ने कार्यविधि निर्माण गरिनेछ । त्यसपश्चात् महाधिवेशनका मुख्य एजेन्डाहरूमाथि केन्द्रित रहेर समूहगत छलफल अगाडि बढाइने बताइएको छ ।

नौ समूहमा नीति मन्थन
बन्दसत्रलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि सहभागी प्रतिनिधिहरूलाई ९ वटा विभिन्न समूहमा विभाजन गरिनेछ । ती समूहहरूमा मुख्य गरी चारवटा गम्भीर विषयमाथि गहन मन्थन हुने पोखरेलले जानकारी दिए । जसमा विधान संशोधन, नीति तथा नेतृत्व, शासकीय सुधार र मुलुकको विद्यमान समसामयिक राजनीतिक विषयहरू रहेका छन् ।

यी विषयहरूमा हुने छलफल र प्राप्त सुझावका आधारमा पार्टीले आफ्नो आगामी वैचारिक तथा सांगठनिक बाटो तय गर्नेछ । विशेष गरी विधान संशोधन र शासकीय सुधारका मुद्दालाई यस महाधिवेशनमा निकै महत्वका साथ हेरिएको छ ।

बन्दसत्रको अर्को महत्त्वपूर्ण पाटो नेतृत्वको प्रश्न रहेको छ । नीतिगत मन्थन सकिएपछि वर्तमान नेतृत्वलाई निरन्तरता दिने वा नयाँ नेतृत्व चयन गर्ने भन्ने विषयमा महाधिवेशनले निकै ठूलो निर्णय लिने अपेक्षा गरिएको छ । नेतृत्व परिवर्तनको पक्षमा बहुमत देखिएमा तत्कालै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अगाडि बढाइने प्रचार प्रसार संयोजक पोखरेलले बताए । यद्यपि, पार्टीभित्रको आन्तरिक एकतालाई ध्यानमा राख्दै नयाँ कार्यसमिति सहमतिमै निर्विरोध चयन हुने सम्भावना समेत बलियो रहेको उनको दाबी छ ।

यसैबीच, देशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू आउने क्रम जारी रहेकाले दर्ता प्रक्रियालाई आज बिहान ११ बजेसम्मका लागि निरन्तरता दिइएको छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार दुर्गम तथा टाढाका जिल्लाहरूबाट कतिपय प्रतिनिधिहरू आज बिहान मात्र आइपुगेकाले उनीहरूको सहजताका लागि समय थप गरिएको हो ।

धेरै पढिएको