काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन आयोजना गरेर पार्टीभित्रको विवाद समाधान गर्न खोजिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सँग छलफल गर्ने भएका छन् ।
चौतर्फी दबाबपछि देउवा वार्ताका लागि तयार भएका हुन् । देउवा निवासमा आज बसेको केन्द्रीय सदस्यहरूको बैठकमा सभापतिलाई आफैं पहल लिन अनुरोध गरिएको थियो । बैठकमा सभापति देउवाले रिसाएका छन्, मैले बोलाउँदा पनि आएनन् भने ? भन्दै प्रश्न गरेका थिए ।
तर केन्द्रीय सदस्यहरूले महामन्त्रीहरू नआउने सम्भावना नरहेको र विशेष महाधिवेशनलाई एकताको बनाउनुपर्नेमा जोड दिएपछि देउवा वार्ताका लागि सहमत भएका छन् ।
कांग्रेस नेता मीन विश्वकर्माले पनि सभापतिले नै महामन्त्रीहरूसँग वार्ता गर्ने बताए । उनले भने, ‘भृकुटीमण्डपमा विशेष महाधिवेशनको रूप दिन कोसिस गरिएको छ । त्यो विधानसम्मत भएन । भेला भएका साथीहरूको सम्मानका लागि कसरी शान्तिपूर्ण निष्कर्षमा पुर्याउन सकिन्छ भन्ने कुरा भयो ।’ उनले दुवै पक्ष पार्टी विभाजनको पक्षमा नरहेको र एकता कायम राख्ने प्रतिबद्धता रहेको स्पष्ट पारे ।