काठमाडौं । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
मन्त्री गुप्ताले आइतबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफूले राजीनामा दिनेबारे जानकारी गराएको बताएका छन् । आज सार्वजनिक बिदा परेकाले औपचारिक राजीनामा पत्र भने भोलिमात्रै दर्ता हुने उनले जानकारी दिए ।
‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ । आज बिदा भएकाले राजीनामा पत्र भोलिमात्रै दर्ता हुनेछ,’ मन्त्री गुप्ताले भने । मन्त्री गुप्ता सिराहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेको भए पनि हालसम्म टिकट नपाएको बताए ।
हाल उनी जनकपुरधाममा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा सहभागी हुन उनी जनकपुरधाम पुगेका हुन् ।