१३ माघ २०८२, मंगलवार
Follow Us

कैलाली र कञ्चनपुरको चुनावी कार्यक्रमका लागि निस्किए बालेन

नेपालब्रिटेन संवाददाता
१३ माघ २०८२, मंगलवार ०५:३५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानलाई तीव्र पार्न आज सुदूरपश्चिम पुग्दैछन् । पार्टीको साङ्गठनिक सुदृढीकरण र चुनावी प्रचारप्रसारका लागि नेता शाहले आज कैलाली र कञ्चनपुरका एक दर्जनभन्दा बढी स्थानमा सम्बोधन तथा घरदैलो गर्ने कार्यतालिका रहेको छ ।

बिहान ७ बजे कैलालीको राजापुरमा आयोजित विशेष स्वागत तथा अभिनन्दन कार्यक्रमबाट शाहले आफ्नो अभियानको औपचारिक सुरुवात गरेका हुन् । राजापुरमा स्थानीय समर्थक र कार्यकर्ताको उत्साहजनक उपस्थितिबीच उनलाई भव्य स्वागत गरिएको थियो ।

पार्टी स्रोतका अनुसार बालेनले आजै कैलालीका प्रमुख व्यापारिक तथा राजनीतिक केन्द्रहरू टिकापुर, लम्की, बर्दगोरिया, सुखड र परमानपुरमा आयोजना हुने कार्यक्रमहरूलाई सम्बोधन गर्नेछन् । यस्तै, मसुरिया, चौमाला र अत्तरिया हुँदै उनी प्रदेश राजधानी धनगढी पुग्नेछन् । धनगढी बजारमा आयोजना हुने विशेष अभिनन्दन कार्यक्रममा उनी सहभागी हुनेछन्, जहाँ उनले पार्टीको चुनावी एजेन्डा र भावी योजनाबारे धारणा राख्ने बताइएको छ ।

कैलालीको भ्रमण सकाएर शाह आजै अपरान्ह ३:३० बजे कञ्चनपुर प्रस्थान गर्नेछन् । कञ्चनपुरको पुनर्वासबाट सुरु हुने उनको दोस्रो चरणको अभियान झलारी हुँदै महेन्द्रनगरमा पुगेर समापन हुनेछ । महेन्द्रनगरमा आयोजना हुने विशाल जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ ।

धेरै पढिएको