काठमाडौं । राजधानीसहित देशभर खाना पकाउने एलपी ग्यासको अभावले उपभोक्ता सास्ती खेप्न बाध्य भएका छन् । बजारमा ग्यासको चरम अभाव देखिएपछि अनुगमनमा निस्किएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा आपूर्ति अत्यन्तै न्यून रहेको निष्कर्ष निकालेको छ । तर, आपूर्ति गर्ने जिम्मा पाएको नेपाल आयल निगमले भने मागभन्दा बढी ग्यास भित्रिरहेको दाबी गर्दै पन्छिन खोजेको छ ।
वाणिज्य विभागका निर्देशक नरहरि तिवारीले बजारको अवस्था भयावह रहेको बताएका छन् । उनका अनुसार हाल बजारमा मागको तुलनामा एकतिहाइ मात्रै ग्यास आपूर्ति भइरहेको छ । ‘आयल निगमले औसत मागभन्दा बढी आयात भइरहेको भनेर टालटुले जवाफ दिएर पुग्दैन, उपभोक्ताले ग्यास पाएका छैनन्,’ तिवारीले भने, ‘अहिलेको संकट टार्न आयात बढाउनुको विकल्प छैन ।’
बजारमा अभाव चुलिँदै गर्दा नेपाल आयल निगमले भने आफ्नो बचाउ गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले माघ महिना लागेयता दैनिक सवा लाख सिलिन्डर भ र्न पुग्ने ग्यास आयात भइरहेको दाबी गरेका छन् । उनका अनुसार फेब्रुअरी महिनाका लागि नियमितभन्दा २ हजार टन थप कोटा स्वीकृत गरिएको छ ।
निगमका अनुसार उपभोक्तामा फैलिएको ‘अभावको त्रास’ नै अहिलेको मुख्य समस्या हो । ‘बजारमा झण्डै ४० लाख सिलिन्डर उपभोक्ताका घरमा रित्तो अवस्थामा रहने गरेका थिए, तर अहिले अभाव हुने डरले सबैले एकैपटक भर्न खोज्दा समस्या देखिएको हो,’ ठाकुरले भने । काठमाडौं उपत्यकामा मात्रै २३ वटा उद्योगले दैनिक ४० हजार सिलिन्डर आपूर्ति गरिरहेको निगमको तथ्यांक छ ।
यी चार उद्योगको ग्यास पाउन मुस्किल
अनुगमनका क्रममा विशेषगरी चारवटा ठूला ग्यास उद्योगको आपूर्तिमा गम्भीर समस्या देखिएको छ । नेपाल ग्यास, एभरेस्ट, साईबाबा र श्रीकृष्ण ग्यासका उपभोक्ताहरूले बजारमा सिलिन्डर पाउन सकेका छैनन् । काठमाडौंमा सबैभन्दा धेरै ८ लाख सिलिन्डर भएको नेपाल ग्यास र ५ लाख हाराहारी सिलिन्डर भएको एभरेस्ट ग्यासको आपूर्ति प्रणालीमा देखिएको अवरोधले गर्दा उपभोक्ता बढी मर्कामा परेका हुन् ।
बजारको चित्र र तथ्यांक
कुल प्रमाणित सिलिन्डर: १ करोड ४० लाख
बजार रोटेसनमा रहने सिलिन्डर: १ करोड थान
मासिक औसत माग: ३० लाख सिलिन्डर (करिब ४७ हजार टन)
फेब्रुअरीका लागि कोटा: ४९ हजार ५ सय टन