९ फाल्गुन २०८२, शनिबार
Follow Us

बलरा नगरपालिकाका पूर्वमेयर सिंह काँग्रेसमा प्रवेश

नेपालब्रिटेन संवाददाता
९ फाल्गुन २०८२, शनिबार ०५:११

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता रहेका सिंहलाई गएराति नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।

पूर्वमेयर सिंहलाई काँग्रेसमा स्वागत गर्न राति सभापति गगनसँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहलगायतका नेतासमेतको उपस्थिति थियो ।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा भने सिंह राजपाको फुटपछि लोसपाबाट मेयरका प्रत्याशी थिए । तर उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका रामाशंकर कुशवाहासँग पराजित भए ।

सिंहकै घरमा काँग्रेस सभापति थापासहितका नेताहरू पुगेर पार्टी प्रवेश गराएका हुन् । सिंहसहित बलरा नगरपालिकाका पूर्ववडाध्यक्ष सुशील झालगायतका नेता कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

यसअघि सर्लाही ४ नम्बर निर्वाचन क्षेत्रका लोसपाका नेताहरू संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायतका नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

धेरै पढिएको