काठमाडौं । नेकपा एमालेले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज (बुधबार) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकै दिन एमालेले ६ वटा प्रदेशका लागि उम्मेदवार चयन गरेको हो ।
एमालेले टुंग्याएको नामावली अनुसार एकीकृत समाजवादी पार्टी परित्याग गरी एमाले फर्किएकी नेतृ रामकुमारी झाँक्रीले लुम्बिनी प्रदेशबाट टिकट पाएकी छिन् । त्यस्तै, कोशी प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीकी स्वकीय सचिव रोशनी मेचेलाई उम्मेदवार बनाइएको छ ।
कुन प्रदेशमा को उम्मेदवार ?
कोशी प्रदेश : रोशनी मेचे
बागमती प्रदेश : डा. प्रेमकुमार दङ्गाल
गण्डकी प्रदेश : सम्झना देवकोटा
लुम्बिनी प्रदेश : रामकुमारी झाँक्री
कर्णाली प्रदेश : मीना रखाल
सुदूरपश्चिम प्रदेश : लीलाकुमारी भण्डारी
मधेश प्रदेशमा भने एमालेले हालसम्म उम्मेदवारको नाम टुंगो लगाएको छैन ।
कांग्रेसले टुंग्यायो ९ उम्मेदवार
काठमाडौं । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूको अन्तिम नामावली टुंगो लगाएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलहरूबिचको लामो रस्साकस्सीपछि अन्ततः नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबिच चुनावी तालमेल गर्ने सहमति जुटेसँगै कांग्रेसले आफ्नो भागमा परेका उम्मेदवार चयन गरेको हो ।
