१६ असार २०८३, मंगलवार
Follow Us

तत्काल पार्टी एकताको आधार छैन, कार्यगत सहकार्य आवश्यक: ओली

नेपालब्रिटेन संवाददाता
१६ असार २०८३, मंगलवार ११:०१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्थामा अन्य राजनीतिक दल वा शक्तिसँग पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन्।

उनले नेता तथा कार्यकर्तालाई त्यस्तो अपेक्षा वा भ्रममा नपर्न आग्रह गर्दै लोकतान्त्रिक मूल्य–मान्यता संरक्षणका लागि भने समान विचार भएका शक्तिबीच कार्यगत सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रवादी, वामपन्थी तथा राष्ट्रहितप्रति प्रतिबद्ध शक्तिहरूबीच साझा एजेन्डामा आधारित संयुक्त संघर्षको आवश्यकता औँल्याए।

उनले एमालेले संस्थागत वा समूहगत रूपमा पार्टी एकीकरणको नीति नलिएको स्पष्ट पार्दै व्यक्तिगत वा समूहगत रूपमा पार्टीमा प्रवेश गर्न चाहनेलाई भने खुला रूपमा स्वागत गरिने बताए। पार्टीमा समाहित हुनेलाई उदार ढंगले अवसर प्रदान गरिने उल्लेख गर्दै उनले विगतका एकताका प्रयासहरू स्वार्थ, राजनीतिक समीकरण र दाउपेचबाट प्रभावित भएको टिप्पणी गरे। उनका अनुसार वास्तविक पार्टी एकताका लागि राजनीतिक निष्ठा र उद्देश्यको स्पष्टता आवश्यक हुन्छ।

अध्यक्ष ओलीले गत फागुन २१ गते सम्पन्न निर्वाचनलाई २०८२ साल भदौ २३ र २४ गते भएका घटनालाई वैधानिकता दिने उद्देश्यले गरिएको राजनीतिक अभ्यासको संज्ञा दिए। उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले भदौ २३ गते गोली चलाउने पक्षको पहिचान तथा दुई दिनसम्म सुरक्षा संयन्त्र प्रभावहीन हुनुका कारण समेट्न नसकेको उल्लेख गर्दै आयोगको गठनले ती घटनाको वास्तविकता ओझेलमा पार्ने प्रयास गरेको दाबी गरे।

उनले पार्टीभित्र थप सुदृढ एकताको आवश्यकता औँल्याउँदै वर्तमान राजनीतिक परिस्थितिमा संगठनलाई प्रभावकारी र विजयी बनाउन आवश्यक रणनीति तथा सुझाव प्रस्तुत गर्न नेता-कार्यकर्तालाई आह्वान गरे।

धेरै पढिएको