२१ श्रावण २०८३, बिहीबार
Follow Us

निर्मला पन्त हत्या प्रकरणबारे ठाडो जवाफ दिएका गृहमन्त्रीले मागे माफी

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०८३, बिहीबार ११:२२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग माफी मागेका छन् । सभाको बुधवारको बैठकमा निर्मला पन्त प्रकरणका सम्बन्धमा सांसदले सोधेको प्रश्नको जवाफ ठाडो भाषामा हुन गएको स्वीकार गर्दै रोष्ट्रमबाटै माफी मागेका हुन् ।

उनको उक्त भाषाशैलीप्रति सांसदहरुले आपत्ति जनाएका थिए । यसअघि बैठकमा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ? यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मलालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भनी प्रश्न सोधेका थिए ।

जवाफमा गृहमन्त्री गुरुङले तपाईँहरू सत्तामा हुँदा किन नगर्नुभएको ? भन्दै ठाडो प्रतिप्रश्न गरेका थिए । उनले आइन्दा यस्तो प्रश्न नगर्न समेत सांसदहरूलाई चेतावनी दिएका थिए ।

गृहमन्त्री गुरुङले माफी माग्दै भने, ‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जान्छौँ । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो । यसका लागि म क्षमा प्रार्थी पनि छु । हजुरहरूसँग माफी पनि माग्न चाहन्छु ।’

उनले सरकार विपद् व्यवस्थापनका सम्बन्धमा सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्यमा काम गरिरहेको बताए ।

धेरै पढिएको