१६ भाद्र २०८३, मंगलवार
Follow Us

बालिकाहरुलाई छ्याङ खुवाएर करणी प्रयास

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०८३, मंगलवार ०९:११

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल–१ का २४ वर्षीय जीवन तामाङ, तेमाल–९ का १९ वर्षीय विजय दोङ र पाँचखाल–१ का २३ वर्षीय रविन तामाङलाई जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको छ । बनेपा बजारबाट माथि चाइना टाउन हुँदै मगरगाउँ जाने बाटोबाट जंगलमा पुर्‍याई युवाहरूको एक समूहले तीन बालिकालाई छ्याङ खुवाएर जबर्जस्ती करणीको प्रयास गरेपछि उनीहरुलाई अनुसन्धानमा तानिएको हो ।

छ जना युवाहरूको समूहले तीन बालिकालाई नशालु पदार्थ दुई बोतल छ्याङ खुवाएर लठ्ठ बनाएका थिए। उनीहरू लठ्ठ भएपछि युवाहरूले बालिकाहरूलाई क्रमशः करणीको प्रयास गरेको बालिकाहरूले प्रहरीमा दिएको बयानमा उल्लेख छ। बालिकाहरू १०, १२ र १३ वर्ष उमेरका छन्।

बयानमा बालिकाहरू र युवाहरूले सँगै चुरोट खाएको बताइएको छ । चाइना टाउनमा सँगै चाउचाउ साँधेर खाएको, त्यसपछि मगरगाउँ माथिको जंगलमा गएको, त्यहाँबाट दुई जना बजारमा छ्याङ किन्न झरेको, दुई जम्बो बोतल छ्याङ लगेर सबैले मिलेर खाएको उनीहरुको बयान छ।

गत साउन १३ गतेको घटना भएको दिन एकजनाको जन्मदिन पनि थियो। जन्मदिन मनाउने र रमाइलो पनि गर्ने योजनामा उनीहरूको समूह जंगलमा गएको बताइन्छ। भदौ ४ गते सरकारी वकिलको कार्यालयले उक्त अभियोग जिल्ला अदालतमा दर्ता गरेको थियो। पक्राउ परेकाहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको छ। तीमध्ये एक बालिकाले आफूलाई करणीसमेत गरेको बयान दिएकी छन्।

धेरै पढिएको