काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै आफन्तहरूले दबाबमूलक अभियान चलाएका छन् ।
मंगलवार सम्पर्कविहीन भएका प्राविधिक तथा कर्मचारीका आफन्तहरूले आयोजनाको निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनीमा गएर यथाशिघ्र उद्धार गर्न दबाब दिएका छन् ।
काँकडभिट्टाका कृष्ण खरेलले बाढी गएको सातौँ दिनपछि बल्ल उद्धार कार्य शुरु गरिएको भन्दै आक्रोश व्यक्त गरे । उनले आयोजनामा फसेका नागरिकमाथि राज्य र निर्माण कम्पनीले पशुवत् व्यवहार गरेको आरोप पनि लगाए ।
आयोजनाको कार्यालय बाढीले बगाएकाले सम्पर्कविहीन भएका कर्मचारीको यकिन तथ्यांक नरहेको जानकारी दिँदै निर्माण कम्पनीले संवेदनहीन व्यवहार गरेको उनको भनाइ छ । खरेलले आफन्तको खोजी आफैँ गर्न खोज्दा सरकारले अनुमति नदिएको र सरकार स्वयंले समेत उद्धार नगरेको बताए ।
उनले उद्धारका लागि हेलिकप्टर उपलब्ध नभएको जानकारी पाएपछि पीडितहरूले सोमवार साँझ कम्पनीको कार्यालयमा तोडफोड गर्नुपरेको पनि बताए । उनले बाढीपछि ४३ जना आयोजनाको सुरुङमा रहेको जानकारी आफूले प्राप्त गरेको समेत बताए ।